थपिए २ लाख मतदाता र २१ दल

काठमाडौं ।
फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलनमा हालसम्म २ लाखभन्दा बढी मतदाता थपिएका छन् भने २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् ।
केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन् भने केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन् । केही दल एकता प्रक्रियामा छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली संकलन तथा अद्यावधिक उत्साहजनक सहभागिता भइरहेको र मंगलबारसम्ममा २ लाख ९ हजार पाँच सय २२ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
कात्तिक २५ गतेसम्ममा १ लाख २२ हजार सात सय ४० पुरुष, ८६ हजार सात सय ८५ महिला र अन्य २७ गरी २ लाख ९ हजार ५सय २२ जना नयाँ मतदाता थपिएका हुन् । कात्तिक २५ गतेमात्रै १३ हजार ६६ पुरुष, १० हजार पाँच सय ६७ महिला र अन्य पाँच गरी २३ हजार ६ सय ३८ नयाँ मतदाता भएका छन् ।
आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ देखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक भइरहेको छ । आयोगले गत असोज ९ गतेदेखि सञ्चालन गरेको नामावली संकलन कात्तिक ३० गतेसम्म चल्नेछ ।
नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई बायोम्याट्रिक दिनुपर्छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिस्ट्रेसन (पूर्वदर्ता) पनि गराउन सकिन्छ ।
अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्ने छ । आयोगले हाल नामावली संकलनमा देखिएको भीड व्यवस्थापनका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने नागरिकलाई हालको नाम दर्तामा भाग नलिन आग्रह गरेको छ ।
निर्वाचनपछि पुनः नामावली संकलन हुने भएकाले आसन्न निर्वाचनमा भाग लिन नपाउनेहरूले अहिले नामावली संकलनमा हतार नगर्न आयोगले आग्रह गरेको हो । आयोगले नाम दर्ता स्थलहरूमा देखिएको अधिक चापलाई व्यवस्थापन गर्न र सहजरूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८ सयभन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा छ÷छ घन्टाका दरले २ सिफ्टमा ९दैनिक १२ घन्टा० सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।
यसका लागि काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना कर्मचारी खटाई सेवा प्रवाहको व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए । अन्य जिल्लाका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा जनशक्ति खटाउने गरी आयोगले नेपाल सरकार, गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ । गत कात्तिक १७ गतेसम्म १८ वर्ष उमेर पूरा भई मताधिकार प्रयोग गर्न पाउनेको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० थियो । नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्ने छ । नामावली संकलनका क्रममा विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबीविरोध गर्ने र नयाँ नाम थप गर्नेलगायतका कार्यहरू हुँदै आएको छ ।
आयोगमा हालसम्म राजनीतिक दल दर्ताको संख्या १ सय २५ पुगेको छ । निर्वाचन घोषणापछि विभिन्न २१ नयाँ दलले निर्वाचन आयोगका दर्ताका लागि निवेदन दिएकामा अध्ययनपश्चात् स्वीकृत हुने क्रम जारी छ । पछिल्लो दिनमा कबिर सोपको नेतृत्वमा ‘जाँतो’ निर्वाचन चिह्न भएको नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी थपिएका छन् ।
दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएका छन् । निर्वाचन प्रयोजनका लागि आयोगले सूचना प्रकाशन गरेपछि पुराना र यी नयाँ दलले निर्वाचनमा भाग लिने भएमा पुनः दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ । त्यसअघि नयाँ दलले दर्ताको निवेदन स्वीकृत गराई दर्ता प्रमाणपत्र लिइसकेको हुनुपर्छ ।









इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया