‘अपराधीहरु फरार रहेसम्म चुनाव हुँदैन’

समाधान संवाददाता २०८२ कार्तिक २९ गते १८:३२

पोखरा ।


नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले शनिबार जुलुस प्रदर्शनसहित खबरदारी सभा गरेको छ । लोकतन्त्रको जगेर्ना, संविधानको रक्षाका लागि प्रतिगामी षड्यन्त्र विरुद्ध एमालेले प्रर्दशन गरेको हो । स्थानीय सिर्जनाचोक, बुद्धचोक र नयाँबजारस्थित बृहस्पति पेट्रोल पम्प अगाडिबाट निस्केको जुलुस पोखरा पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको हो ।


सभामा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले शान्तिपूर्ण वातावरण नबनेसम्म फागन २१ को चुनाव हुन नसक्ने अडान राखे । उनले संविधान विपरीत बनेको सरकारले हर्ष बढाई गरेको भरमा चुनाव नहुने तर्क गरे ।
जेन्जीको प्रर्दशनका क्रममा नेपाल प्रहरीको लुटेको हतियार फिर्ता र फरार अपराधीलाई जेल नहालेसम्म चुनावको वातारण बन्न नसक्ने उनले उल्लेख गरे । ‘प्रहरीका लत्ताकपडा, हातहतियार, गोला, बारुद सरकारसँग छैन । प्रहरीले प्रयोग गर्ने गोलाबारी बाहिर छन्,’ उनले भने, ‘बलत्कार, ज्यान केस, चोरी डकैतीमा संलग्न व्यक्ति जेलबाट फरार छन् । प्रहरीका तिनै हातहतियार र पोशाकका साथ मतदान केन्द्रमा आउन सक्छन्, जसको कारण नेपाल प्रहरी भ्रममा पर्न सक्छन् ।’

Advertisement


उनले लुटिएका हतियार फिर्ता र फरार अपराधीलाई जेल हालेर शान्तिपूर्ण वातावरण नबनेसम्म चुनाव हुन नसक्ने बताए । उनले यथास्थितिमा चुनाव गरे मतदान केन्द्र रणभूमि बन्न सक्ने दाबी गरे । नेता अधिकारीले चुनावको प्रचारमा जान पर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंको चार किल्ला बाहिर जान नदिने अधिकार कसैलाई नभएको उल्लेख गरे ।


व्यक्तिलाई स्वतन्त्र रुपमा हिड्डुल गर्न नदिने काम संविधान विपरीतको कदम भएको दाबी गर्दै उनले अध्यक्ष ओलीलाई काठमाडौं बाहिर जान नदिएर चुनाव हुन नसक्ने बताए । उनले प्रधानमन्त्री सुशीला कार्कीले दलका नेतासँग संवाद नगर्ने, अनुहार नहेर्ने भन्ने तथा दलका नेतालाई स्थानहद तोकेर प्रचारप्रसारमा जान नदिएर चुनाव हुन नसक्ने अडान राखे ।

Advertisement


उनले संविधान विपरीत बनेको सरकारले जनताका अधिकार खोस्न खोजेकाले एमाले सडकमा आएको जानकारी दिए । नेपाललाई युद्ध मैदान बनाएर सिक्किम र भुटान बनाउने षड्यन्त्र भएको आरोप लगाउँदै उनले भारत र चीनलाई नेपालको असल छिमकी बन्न सुझाव दिए । उनले नेपालको राजनीतिक निर्णय नेपालीले गर्ने बताए । जनताप्रतिको उत्तरदायी संस्था संसद भएको उल्लेख गर्दै उनले उनले छिटो संसद पुनस्थापना गरेर रोड म्याप बनाएर सुशासन प्रर्वद्धन र भ्रष्टाचार नियन्त्रणको काम गर्न सकिने जनाए ।


जेन्जी पुस्ताको आन्दोलनको नाममा व्यवस्था समाप्त गर्ने प्रयत्न भएको दाबी गर्दै नेता अधिकारीले एमाले सरकारमा हुँदा ५ दशमलव २ प्रतिशतको विकास दर अहिले २ प्रतिशतमा झर्नु पश्चगमन भएको तर्क गरे । सरकारी भवन, निजी आवास तथा उद्योग प्रतिष्ठानमा आगजनी तोडफोड र लुटपाटका घटनाले धेरैको रोजगारी गुमेको चर्चा गर्दै उनले घटनाको निश्पक्ष छानबिन गर्न अर्को आयोग गठन गर्न माग गरे ।


‘निर्णयक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नाराका साथ भएको जनसभामा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य कृष्ण थापा, कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा लगायतले बोलेका थिए । सभामा पार्वती जिसी लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति राखे ।

तपाईको प्रतिक्रिया