मानव सेवा आश्रमलाई पुरस्कार

पोखरा ।
मानवसेवा आश्रम नेपाललाई यस वर्षको हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार प्रदान गरिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले १५ लाख अक्षयकोष खडा गरी स्थापना गरेको उक्त पुरस्कारको राशि १ लाख १ हजार छ ।
शनिबार आयोजित कार्यक्रममा गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट र समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई सो पुरस्कार प्रदान गरे । कार्यmक्रममा गण्डकी प्रदेशका प्रमुख भट्टले मानव कल्याण भन्दा अरु ठूलो धर्म नभएको बताएका छन् । सहयोगापेक्षी सडक आश्रित मानवको हित गर्ने कार्य पुण्यको कर्म भएको उनको भनाइ छ ।
पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको समारोहमा उनले यस्तो बताएका हुन् । उक्त पुरस्कार यस वर्ष मानवसेवा आश्रम नेपाललाई संस्थागत रुपमा प्रदान गरिएको छ ।
प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवद्र्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताए । पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरको विकास, संरक्षण, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा क्रियाशील समितिको निरन्तर सेवाको पनि उनले प्रशंसा गरे ।
‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा १४ वर्षदेखि अनवरत लागिरहेको मानवसेवा आश्रमलाई यो सम्मान अर्पण गर्ने निर्णयप्रति समितिलाई धन्यवाद व्यक्त गर्दछु र आश्रम सञ्चालकहरूलाई बधाई दिन चाहन्छु,’ प्रदेश प्रमुख भट्टले भने, ‘आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार, पालनपोषण, संरक्षण, पारिवारिक पुनःमिलन कार्यक्रम गरिरहेकोमा आश्रमको कामलाई मुक्तकण्ठले प्रशंसा गर्दछु ।’
यस पुरस्कारबाट यसअघि सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई सम्मान गरिसकिएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया