कोबाङ—जोमसोम बाटोको म्याद थपिँदै

सुन्दरकुमार थकाली
जोमसोम ।
मुस्ताङको कोबाङ–जोमसोम सडक खण्ड आठ वर्षदेखि अलपत्र छ । राष्ट्रिय गौरवको यो आयोजनाको काम पूरा नहुँदा स्थानीय, पर्यटक र यात्रुले सास्ती खेप्नुपरेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडकको काम रोकिएको छ । अहिले यसको म्याद सातौँ पटक थप्ने प्रक्रिया अघि बढेको छ ।
बेनी–जोमसोम सडकको कुल लम्बाई ७४ किलोमिटर छ । त्यसमध्ये कोबाङ–जोमसोम खण्ड करिब १७ किलोमिटर पर्छ । यो खण्डको काम आठ वर्षदेखि रोकिएको छ । घाँसाबाट माथिल्लो भेगसम्म कालोपत्रे भइसकेको छ । तर, कोबाङ–जोमसोम खण्डका तीन स्थानमा अझै काम बाँकी छ ।
यो सडक बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत पर्छ । विसं २०७३÷७४ मा चार खण्डमा ठेक्का सम्झौता भएको थियो । कोबाङ–जोमसोम खण्डको ठेक्का पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानी जेभीले पाएको थियो । ११ मिटर चौडा सडक र कालोपत्रेका लागि ७० करोड रुपैयाँको लागतमा सम्झौता भएको थियो ।
सुरुमा निर्माण कम्पनीले काममा तीव्रता दिएको थियो । तर, पछि काममा ढिलासुस्ती भयो र काम रोकियो । लामो समयसम्म काम नभएपछि आयोजनाले निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको थियो । आयोजनाको बारम्बारको ताकेता र कारबाहीको धम्कीपछि जेभीको मुख्य कम्पनी गौरी पार्वतीले कामको जिम्मा लियो । तर, कम्पनीले आंशिक रुपमा मात्र काम गरेको छ । निर्माण कम्पनीको लापरबाहीले कामले गति लिन सकेको छैन ।
आयोजनाले कम्पनीलाई कुल ठेक्का सम्झौता लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत जरिबाना लगाएको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर बाबुसाहेव बैठाका अनुसार, कोबाङ–जोमसोम सडकको म्याद सातौँ चरणमा थप्ने प्रक्रिया अघि बढेको छ । हालसम्म भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत छ ।
गौरी पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीका अनुसार, थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्रे र ३०० मिटर आरसिसी प्रविधिको सडक विस्तार बाँकी छ । यस क्षेत्रमा कालोपत्रे र आरसिसी प्रविधिको ’ड्रेन’ र ’स्ट्रक्चर’को काम सकिएको छ ।
मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब १ हजार २०० मिटर कालोपत्रे गर्न बाँकी छ । जोमसोमको पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा ‘स्ट्रक्चर’ र कालोपत्रे गर्न बाँकी छ ।
कम्पनीका प्रतिनिधि अधिकारीले मंसिर मसान्तसम्म कोबाङ–जोमसोम सडकको सबै काम सकिने दाबी गरे । उनले भने, ‘हामीले जिम्मा लिएपछि कामलाई तीव्रता दिएका छौँ । सोही अनुसार काम पनि भइरहेको छ । अहिले कामदार धान काट्न घर गएकाले काम रोकिएको हो । अब एक हप्ताभित्रै कामले निरन्तरता पाउनेछ ।’ राष्ट्रिय गौरवको बेनी–जोमसोम अन्तर्गतको कोबाङ–जोमसोम सडक कालोपत्रे नहुँदा पर्यटक, स्थानीय, सवारीसाधन र पैदलयात्रीलाई समस्या भइरहेको छ । यो सडक पूरा भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घाँसाबाट कागबेनी–मुक्तिनाथसम्मको आवागमन सहज हुनेछ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया