मंसिरभित्रै महाधिवेशन गर्न कांग्रेस गण्डकीको माग

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको विशेष भेलाले मंसिरभित्रै महाधिवेशन माग गरेको छ । अहिलेको अवस्था र १५ औं महाधिवेशनबारे छलफल गर्न आयोजना गरिएको भेलामा बोल्ने वक्ताहरुले मंसिरभित्रै सम्भव भएसम्म नियमित नभए विशेष महाधिवेशन माग गरेका हुन् ।
मुलुकको परिस्थिति, कांग्रेसको जिम्मेवारी र १५ औं महाधिवेशनको सम्बन्धमा भेलामा उपस्थित सबै कार्यकर्तालाई बोल्न दिइएको थियो । भेलामा प्रदेश समिति, महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, जिल्ला समिति, स्थानीय तह समिति, जनप्रतिनिधि लगायत उपस्थित थिए । उनीहरुका धारणाका आधारमा भेलाले उक्त निर्णय गरी केन्द्रीय समितिमा पठाउने भएको छ ।
स्थानीय तहदेखि केन्द्रीय कार्यसमितिको पदावधि समाप्त हुन लागेको अवस्थामा नियमित महाधिवेशन वा विशेष महाधिवेशन भन्ने विषयमा बहस भइरहनु दुर्भाग्य भएको भेलाको ठहर छ । ‘यसै विषयलाई लिएर १ महिनादेखि बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्न नसकेकाले अन्योल छ,’ निर्णयमा लेखिएको छ, ‘लामो समयसम्म अनिर्णयको बन्दी भएर बसिरहदा तल रहेका कार्यकर्ता र शुभेच्छुकमा निराशा बढिरहको देखिन्छ । त्यसैले अब नेपाली कांग्रेस अल्मलिनु हुँदैन, रोकिनु हुँदैन ।’
कांग्रेसले सुधे्रर परिवर्तित अवस्थाको कांग्रेस बनी आम निर्वाचनमा जनताका साथ जानुपर्ने भेलाको ठहर छ । कारणवस नियमित महाधिवेशन गर्न नसकिने अवस्था आएमा पार्टीको विधान बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग भएको विशेष महाधिवेशन भए पनि गर्नुपर्ने निर्णय भएको छ । उक्त भेलाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्यहरुमाथि हमला र कांग्रेस पार्टी कार्यालयसहित सरकारी तथा निजी सम्पत्ति र कार्यकर्ताको निवासमा भएको आगजनीप्रति भेलाले भत्र्सना र निन्दा गरेको छ । भेलाले जेनजी आन्दोलनपश्चात नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा राख्न नसकेको भन्दै गण्डकी प्रदेशका अधिकांश नेता तथा कार्यकर्ताले आक्रोश पनि पोखेका थिए ।
हामी खुसी छैनौं आफ्नै पार्टीदेखि । हामीलाई भ्रष्टाचारीको आरोप लागेको छ । चुनावमा फेस गर्न नसक्ने नेताहरूले महाधिवेशन रोकेका छन् ।
विष्णुकुमारी कँडेल, महासमिति सदस्य
पार्टी केन्द्रीय कार्यसमितिको बैठक १ महिनादेखि जारी रहे पनि कुनै निष्कर्षमा पुग्न नसकेको भन्दै उनीहरूले पार्टी नेतृत्वप्रति आक्रोशमात्र पोखेनन्, पुरानो नेतृत्वलाई बिदाइ गर्न पनि जोडदार माग राखेका छन् । कांग्रेस गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको भेलामा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी नेतृत्व भ्रष्टाचारमा डुबेको र देशलाई निकास दिने निर्णय दिन नसकेको भन्दै आक्रोश पोखेका हुन् ।
भेलामा नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जेनजी आन्दोलन क्रममा भएका घटना र पार्टी नेतृत्वका बारेमा समीक्षा नै नगर्दा समस्या भएको बताए । पार्टी सभापति देउवाले उपचारका नाममा ठोस निर्णय नगरी सिंगापुर जाँदा कांग्रेसले थप क्षति बेहोर्नुपर्ने अवस्था आएको उनले दाबी गरे ।
‘अझै पनि समय छ । सके नियमित महाधिवेशन, नसके विशेष महाधिवेशन शेरबहादुर दाइको नेतृत्वमा गर्नुपर्छ,’ उनले भने, ‘जेनजी आन्दोलनका क्रममा नेताका घरमा भेटिएका पैसा कार्यकर्तालाई बाड्नलाई राखिएको भनेर सुनेका छौं । त्यो कांग्रेसकै कार्यकर्ता चुसेको पैसा हो । यो हाम्रो पार्टीमा मात्र हैन, सबै पार्टीमा छ । यो सुधार्नुपर्छ ।’
कांग्रेस गण्डकी सदस्य आशिक गुरुङले समयमै महाधिवेशन हुनुपर्ने र त्यसमा बढीभन्दा बढी युवाको उपस्थिति हुनुपर्ने माग राखे । ‘महाधिवेशनबाट फेरि तिनै पुराना नेता आउने होला, त्यो हामी स्वीकार गर्न सक्दैनौं,’ महाधिवेशन प्रतिनिधि गुरुङले भने, ‘पार्टीले टिकट बाँड्दा र पार्टीका हरेक संरचनामा कम्तीमा ५० प्रतिशत युवालाई सहभागी बनाउनुस्, बाँकी तपाईहरू बस्नुस् ।’
नवलपुरकी महासमिति सदस्य विष्णुकुमारी कँडेलले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने नेताहरूले देश र पार्टीलाई अनिर्णयको बन्दी बनाएको तर्क गरिन् । पार्टी र नेतृत्वलाई भ्रष्टाचारीको पार्टी भन्ने आरोपबाट मुक्त गर्न महाधिवेशनमार्फत नयाँ नेतृत्व छान्नुपर्ने उनले बताइन् । ‘हामी आफैं खुसी छैनौं आफ्नै पार्टीदेखि,’ उनले थपिन्, ‘हामीलाई भ्रष्टाचारीको पार्टी भनेर आरोप लागेको छ । चुनावमा फेस गर्न नसक्ने नेताहरूले महाधिवेशन रोकेका छन् ।’ नियमित महाधिवेशन हुँदैन भने अब विशेष महाधिवेशनबाट भए पनि नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।
भेलामा गण्डकी प्रदेश समिति सभापति शुक्रराज शर्माले जनतासँग माफी मागेर जानुपर्ने धारणा राखे । एमालेसँग मिलेर सरकार बनाउने, माओवादीसँग मिलेर चुनावमा जाने, निरन्तर सरकारमा रहँदा पनि केही काम गर्न नसकेको भन्दै माफी माग्नुपर्ने उनको धारणा छ ।
शर्माले तुरुन्त नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्न मागसमेत गरेका छन् । ‘महाधिवेशन हाम्रो आन्तरिक प्रक्रिया हो । अवधि पुगेको छ भने के कारणले रोकिएको छ ?’, उनले भने, ‘छिटो महाधिवेशनको मिति घोषणा गर । नभए ५४ प्रतिशत हस्ताक्षर छ, सोही अनुसार गर’ निर्णय दिन नसके नेतृत्व छोड्न पनि चेतावनी दिएका छन् ।
उनले केन्द्रीय समितिको आन्तरिक स्वार्थका कारण महाधिवेशन रोकिएको आरोप लगाउँदै यसलाई ‘अनिर्णयको बन्दी’को संज्ञा दिए । शर्माले पार्टी र जनताबिचको दूरी बढ्दै गएमा देश दुर्घटनामा फस्नेसमेत चेतावनी दिए । उनले धार्मिक स्वतन्त्रता, प्रजातन्त्र र समाजवाद जस्ता कांग्रेसका मूल सिद्धान्तबाट विचलित हुँदा पार्टी कमजोर भएको तर्क गरे । अब कांग्रेस सुध्रेर जनताको माग सम्बोधन गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।









इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया