एक्यान कास्कीमा दीपक भुर्तेलको नेतृत्वमा नयाँ कार्यसमिति, सामाजिक सुरक्षा कोषबारे अन्तरक्रिया

पोखरा। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) कास्कीको नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको छ। दीपक भुर्तेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।
सोही अवसरमा एक्यानले सामाजिक सुरक्षा कोषसँगको सहकार्यमा सामाजिक सुरक्षा कार्यक्रमबारे आफ्ना सदस्यहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ।
पोखरामा आयोजित एक कार्यक्रमका बीच एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपाल, उपाध्यक्ष अनिल लामिछाने र महासचिव प्रदीप अर्यालले कास्की शाखाको नवगठित कार्यसमितिलाई शपथ गराएका छन्।
एक्यान कास्कीको हालै सम्पन्न अधिवेशनले अध्यक्षमा दीपक भुर्तेललाई सर्वसम्मत चयन गरेको थियो। समितिको उपाध्यक्षमा सागर आचार्य, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा सरोज पराजुली रहेका छन्। यसैगरी सदस्यहरूमा आशिस विक्रम शाही, दीपक पाण्डे, सिमा रिजाल, श्रीकृष्ण रेग्मी र सुरज बस्नेत रहेका छन्।
नवनिर्वाचित अध्यक्ष भुर्तेलले लेखापरीक्षण व्यवसायलाई मर्यादित र राम्रो बनाउन यस क्षेत्रमा काम गर्ने सबै मिल्नुपर्ने बताएका छन्। उनले भने, ‘लेखा व्यवसायमा काम गर्ने सबै मिलेर मात्र लेखा क्षेत्र अब्बल बनाउन सकिन्छ। त्यसका लागि मेरो टिमले काम गर्नेछ।’
एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपालले केन्द्रमा मात्र नभई प्रदेश र जिल्ला जिल्लामा एक्यानका गतिविधिलाई सक्रिय बनाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘संस्थाको हितमा लाग्ने छौँ। अझ राम्रो र दरिलो संस्था बनाउने योजना छ।’
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै रोजगारदाताहरूलाई प्रोत्साहित गर्न एक्यानका सदस्यहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्। उनले सामाजिक सुरक्षा कोषको फाइदाका बारेमा रोजगारदाता र श्रमिकलाई बुझाउनुपर्नेमा जोड दिए। अधिकारीले भने, ‘सामाजिक सुरक्षा कोष योजना सुरुआतसँगै स्वास्थ्य उपचार सेवा सस्ता भएका छन्। उद्योग प्रतिष्ठानहरूमा बन्द, हड्ताल रोकिएका छन्। यसबाट श्रमिकलाई मात्र होइन, रोजगारदाताहरू समेत लाभान्वित भएका छन्।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सामाजिक सुरक्षा कोष कार्यक्रम राम्रो रहे पनि व्यावसायिक प्रतिष्ठान र उद्योगहरूमा पूर्ण कार्यान्वयनमा आउन नसकेको बताए।
सामाजिक सुरक्षा कोषका सह-निर्देशक महेश घिमिरेले आगामी दिनमा कोषमा आवद्ध भएपछि मात्र व्यक्तिगत तथा साझेदारी फर्मले कर चुक्ता निकाल्न सक्ने गरी प्रभावकारी बनाउन लागिएको जानकारी दिए।
कार्यक्रममा एक्यान गण्डकीका पूर्वप्रदेश प्रमुख सागर लामिछाने, अडान गण्डकीका अध्यक्ष ज्ञानबहादुर कार्की, कास्कीका अध्यक्ष गुणनिधि पाण्डे लगायतले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्टहरूको पेशागत संघ एक्यानमा सिएहरू सदस्य रहने प्रावधान छ। एक्यानको हालै केन्द्रदेखि जिल्लासम्म नयाँ नेतृत्व चयन गरिएको छ। पोखराका अनिल लामिछाने केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए। उनी काठमाडौँबाहिरबाट पहिलो पटक एक्यान केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका हुन्।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया