धुर्मुसचोकमा डेंगी अभिमुखीकरण

समाधान संवाददाता २०८२ मंसिर १ गते १६:५७

पोखरा ।
डेंगी रोग संक्रमण रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा ३२ स्थित खुदीखोला एक नम्बर धुर्मुसचोकमा डेंगी रोग संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाको व्यवस्थापनमा भएको सचेतनामुलक कार्यक्रमको अलवा डेंगी संक्रमण फैलाउने लामखुट्टेको बासस्थान खोज र नष्ट अभियान समेत सञ्चालन गरिएको छ । अभियानको क्रममा भेटिएका लार्भा तथा प्युपालाई समुदायकै रोहबरमा नष्ट समेत गरिएको थियो ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रेडक्रस कास्की शाखाले डेंगु रोकथाम तथा प्रतिकार्यको लागि विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिइन् ।

Advertisement

उनले स्थानीय समुदायको सक्रिय सहभागिता तथा विद्यालय स्तरमा भएको कार्यक्रमले डेंगी रोक संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग पुगेको बताइन् । उनले घर,टोल र समुदायमा डेंगी संक्रमण फैलाउने लामखुट्टेको खोज र नष्ट अभियान गर्न सुझाव दिइन् ।


रेडक्रस कास्कीका डेंगी फोकल पर्सन भण्डारीले रेडक्रस कास्कीले डेंगी संक्रमण तथा रोकथाम कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गतिविधिहरू सञ्चालन गरेको बताए ।

Advertisement

‘वर्षाको समयदेखि यता खाल्डा खुल्डी, प्लास्टिक, सिसाजन्य बोतल, बिर्कोमा जम्मा हुँदा लामखुट्टेको बासस्थान बृद्धि हुन सहयोग पुगेको छ, ’उनले भने, डेंगी रोग संक्रमणबाट आम नागरिकलाई बचाउनको लागि सामुदायिक गतिविधिहरू सञ्चालन भइरहेका छन् ।’ उनले कास्कीका विद्यालयहरुमा असभमुखिकरण तथा संकटासन समुदायका टोलटोलमा खोज र नष्ट गर अभियान मार्फत समुदायमा सचेतना दिलाउनु र डेंगी संक्रमण रोक्नुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाए ।


सहरी तथा ग्रामीण भूभागका समुदायकै व्यक्तिको सहभागितामा डेंगी संक्रमण फैलाउने लामखुट्टेको फुल, लार्भा नष्ट गर्ने अभियान तीव्रताका साथ अगाडि बढाइएको जानकारी दिदै उनले विशेषगरी १५देखि ३५ डिग्री सेन्टिग्रेडमा डेंगी फैलाउन सक्ने लामखुट्टेहरू सक्रिय हुने भएको कारण चिसो बढ्दै गएपनि संक्रमण बढिरहेको बताए । उनले जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि भएकोले एडिजातका लामखुट्टेहरूको जीवन चक्र प्रतिकूल वातावरण भएको कारण संख्या बढेको जनाए ।


समुदायको सहभागितामा नै डेंगी संक्रमण रोकथाममा महत्वपूर्ण भूमिका रहेको चर्चा उनले सबैले आफ्नो घरदेखिबाटै खोज र नष्ट गर अभियान तीव्रता रुपमा अगाडि बढाए डेंगी संक्रमण रोकथाम नियन्त्रणमा सहयोग पुग्ने उल्लेख गरे । प्रशिक्षक सुनिता पौडेलले जाडोमा समेत डेंगीको संक्रमण नरोकिएकोले समुदायमा अभिमुखीकरणसँगै खोज र नष्ट गर अभियानलाई अगाडि बढाउनु पर्नेमा जोड दिइन् । उनले डेंगी संक्रमणको जोखिम, लक्षण र डेंगीबाट बच्ने उपायको बारेमा सहजीकरण गरिन् ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाका सभापति बिन्दुराज तिवारी, उपशाखाका उपसभापति बिमला थापा, सचिव विष्णुबहादुर बस्नेत, उपशाखाका सदस्य देवी तिवारी, आजीवन सदस्य अर्जुन मल्ल, स्वयं सेवक रुपा केसी लगायतले डेंगी संक्रमण रोकथामको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया