कीर्तिपुरमा फ्लड लाइट क्रिकेट: कप्तानहरू केसी र साह उत्साहित, १ लाख दर्शकको साथ

काठमाडौँ । नेपालमा पहिलोपटक फ्लड लाइटमा क्रिकेट खेल्न पाउँदा खेलाडीहरू निकै उत्साहित भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेपछि काठमाडौँ गोर्खाजका कप्तान करण केसी र जनकपुरका कप्तान अनिल साह दुवैले खुसी व्यक्त गरेका हुन्। उद्घाटन खेलमा हजारौँ दर्शकले मैदानभित्र र बाहिरबाट उल्लेख्य साथ दिएका थिए।
ऐतिहासिक क्षण र खुसी:
काठमाडौँ गोर्खाजका कप्तान केसीले यस मैदानमा पहिलोपटक फ्लड लाइटमा खेल्न पाउँदा छुट्टै अनुभव भएको बताए। उनले भने, ‘घरेलु मैदान र दर्शकसामु फ्लड लाइटमा खेल्न पाउँदा भित्रैबाट खुसी लागेको छ। फ्लड लाइटमा पहिलो पटक खेल्नु ऐतिहासिक क्षण थियो, त्यसमाथि पहिलो खेलमै जित हात पार्दा निकै खुसी छौँ।’ पिचले स्पिनरलाई साथ दिएकाले जित सम्भव भएको उनको भनाइ थियो। केसीले आगामी दिनमा पनि राम्रो प्रदर्शन गर्दै गत संस्करणका कमीकमजोरी सच्याएर उपाधि जित्ने लक्ष्य राखेको जानकारी दिए।
सपना पूरा भएकोमा साह उत्साहित:
जनकपुर बोल्ट्सका कप्तान अनिल साहले पनि नेपालमै फ्लड लाइटमा खेल्न पाउँदा सपना पूरा भएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘नेपालको आफ्नै मैदानमा फ्लड लाइटमा खेल्ने सपना थियो, त्यो पूरा भएको छ, यसमा हामी एकदमै खुसी छौँ।’ ब्याटिङमा लामो साझेदारी नबन्दा खेल आफ्नो पक्षमा नआएको साहले स्वीकारे। पारीको सुरुवात राम्रो भए पनि आसिफसँग अन्य ब्याटरको साझेदारी हुन नसक्दा र लक्ष्य कम भएकाले दोस्रो पारीमा खेलमा फर्कन नसकेको उनले बताए। प्रतियोगिताको पहिलो खेलमा हार बेहोरे पनि आगामी खेलमा राम्रो प्रदर्शन गर्ने उनको भनाइ थियो।
फ्लड लाइट जडानमा ४ करोड १९ लाख रुपैयाँ खर्च:
एनपिएलको पहिलो संस्करण सफल भएपछि सरकारले मैदानमा फ्लड लाइट जडानमा चासो देखाएको थियो। यसका लागि सरकारले ४ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ। निर्माण कम्पनी विशन–ईश्वरी ज्वाइन्ट भेञ्चरका अनुसार मैदानमा राखिएका ६ वटा खम्बामा फ्लड लाइट जडान गरिएको छ। एउटा खम्बामा ७० वटा लाइट गरी कुल ४२० वटा लाइट जडान भएका छन्।
एनपिएलको तालिका:
नेपाल क्रिकेट संघ (क्यान) ले एनपिएलका कुल ३२ खेलमध्ये २३ वटा फ्लड लाइटमा खेलाउने तालिका बनाएको छ। मंसिर २७ गतेसम्म चल्ने यस प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ टोली सहभागी छन्।
रासस








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया