बागलुङको दरमखोला हाइड्रोपावरबाट व्यावसायिक विद्युत् उत्पादन सुरु

समाधान संवाददाता २०८२ मंसिर २ गते ६:१५

ढोरपाटन (बागलुङ) । बागलुङको दरमखोला हाइड्रोपावरले व्यावसायिक विद्युत् उत्पादन थालेको छ। विसं २०७७ देखि निर्माण सुरु भएको यो हाइड्रोपावरले आइतबारदेखि नियमित रूपमा बिजुली उत्पादन गर्न थालेको हो।

Advertisement

प्रसारण लाइनमा जडान र उत्पादन क्षमता:
दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको यो हाइड्रोपावर गत असोज ३० गते नै केन्द्रीय प्रसारण लाइनमा जडान भएको थियो। विसं २०६५ मा निर्माणको योजना बने पनि काम भने २०७७ सालदेखि मात्रै सुरु भएको थियो। यसको कुल उत्पादन क्षमता ९.६ मेगावाट रहेको छ।

निर्माण प्रक्रिया र प्राविधिक विवरण:
सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भनिए पनि पछि दरमखोला हाइड्रो इनर्जी प्रालिले यसको जिम्मा लिएको हो। गलकोट नगरपालिका–८, काँडेबासमा ड्याम निर्माण गरी करिब साढे ४ किलोमिटर पश्चिममा रहेको मनेवापाटामा विद्युत् गृह बनाएर बिजुली उत्पादन सुरु गरिएको हाइड्रोपावरका इन्जिनियर मिथिलेस चौधरीले जानकारी दिए। उनका अनुसार, बर्खायाममा ९.६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँदमा भने ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको छ।

Advertisement

इन्जिनियर चौधरीले दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको हरिचौर सवस्टेशनमा जोडिएको बताए। यो सवस्टेशन विद्युत् गृहभन्दा १४ किलोमिटर पूर्वमा पर्छ। प्रसारण लाइनमा १ महिनाअगाडि नै जोडिए पनि व्यावसायिक उत्पादन भने अहिले मात्रै नियमित हुन थालेको उनको भनाइ छ।

लगानी र चुनौतीहरू:
हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेडले पाएका थिए। निर्माणका क्रममा विभिन्न अवरोधका कारण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए। सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूहरूले सुरु गरेको उनको भनाइ छ।

Advertisement

अध्यक्ष पुनका अनुसार, यस परियोजना निर्माणमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँबस्तीमा बिजुली पुग्ने अपेक्षा गरिएको छ।

बागलुङको सबैभन्दा ठूलो परियोजना:
अध्यक्ष पुनले दरमखोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो परियोजना रहेको बताए। उनले भने, ‘यसको सर्भे धेरै वर्षअगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ। १७ वर्षअगाडि गोर्खा हाइड्रोपावर कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरूले नयाँ कम्पनी बनाएर काम गर्यौँ, अहिले सम्पन्न भएर उत्पादन गर्ने स्थितिमा आएको छ।’ रासस

तपाईको प्रतिक्रिया