पीपलडाली सडक स्तरोन्नति हुँदै

समाधान संवाददाता २०८२ मंसिर २ गते ११:३५

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित पीपलडाली खाल्से सडक स्तरोन्नति योजनाको शिलान्यास गरिएको छ । योजनाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरे । करोड ७८ लाख ४ सय ८६ रुपैयाँ ७९ पैसामा सडक निर्माणको काम सम्पन्न गर्नेछ । करिब ३.५ किलोमिटर सडक नाला सहित ८ मिटर चौडाइ र २ सेमी ब्ल्याक टप पिच हुनेछ ।


सडक स्तरोन्नति योजनाको शिलान्यास गर्दै नगर प्रमुख आचार्यले स्रोत अभावका कारण निकै लामो समयसम्म अलपत्र परेको उक्त सडकलाई महानगरपालिकाले यस वर्ष प्राथमिकतामा राखेर स्तरोन्नति थालेको बताए । २०८३ भदौ ७ गतेसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकाले गुणस्तरीय निर्माण गर्न उनले निर्माण कम्पनीलाई सचेत गराए ।


‘ग्रामीण क्षेत्रलाई बजारसम्म जोड्न र स्थानीय उत्पादनको बजारीकरणका लागि पहुँच मार्ग जरुरी हुन्छ, विकासको पहिलो सर्त सहज पहुँचका लागि स्तरीय सडक नै हो,’ उनले भने, ‘यो सडक निर्माण भइसकेपछि यस क्षेत्रलाई पोखराको मुख्य बजारसम्म जोड्न र स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य उत्पादनहरूको बजारीकरणका लागि महत्वपूर्ण सहयोग पुग्नेछ ।’ सडक निर्माण कार्यमा उपभोक्ताका रूपमा आवश्यक सहजीकरण गरिदिन जनप्रतिनिधि र स्थानीयहरूलाई उनले आग्रह गरे ।

Advertisement


कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले आफूहरू जनताको सेवकका रुपमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै पीपलडाली खाल्से सडक निर्माण कार्य विभिन्न निकायहरूको आश्वासनका कारण विलम्ब भएको बताए । अन्ततः नगर प्रमुख आचार्यको सक्रियता र आफूहरू समेतको जोडबलका कारण सडक निर्माणका लागि आवश्यक स्रोतको व्यवस्थापन सम्भव भएको उनले उल्लेख गरे ।


कार्यक्रममा सहभागी स्थानीय उपभोक्ताहरूले लामो समयसम्म अलपत्र परेको सडक निर्माण हुनेभएपछि खुसी व्यक्त गरेका छन् । उनीहरुले सडक निर्माण तोकिएको समयमा नै सम्पन्न गर्ने कार्यमा आफूहरू साथ रहने बताएका छन् । सडक निर्माणको ठेक्का भान्जा/बि एन्ड बि जेबीले पाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया