सडक सुरक्षा पाठ्यक्रम लागू गर्न कार्यदल गठन

समाधान संवाददाता २०८२ मंसिर २ गते १६:३८

काठमाडौँ ।
नेपालका विद्यालय, कलेज तथा विश्वविद्यालयमा सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम लागू गर्ने विषयमा नीतिगत छलफल भएको छ । यस छलफलले सडक सुरक्षाको क्षेत्रमा शैक्षिक संस्थाको भूमिका बढाउन र पाठ्यक्रम विकासका लागि एउटा महत्वपूर्ण कदम चालेको छ । छलफल पश्चात् प्रारम्भिक तहदेखि विश्वविद्यालय तहसम्मका शैक्षिक संस्थाहरुमा सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम लागू गर्न एक कार्यदल पनि गठन गरिएको छ ।


नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्वारा आयोजित कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, र विभिन्न नगरपालिकाका मेयर, उपमेयर तथा उच्च तहका अधिकारीहरुको सहभागिता रहेको थियो । यसका साथै, नेपालका विभिन्न विद्यालय तथा कलेजका प्रिन्सिपलहरु, विश्वविद्यालयमा कार्यरत अध्यापकहरु, सञ्चारकर्मी, पीडित परिवार, विज्ञ तथा अधिकारकर्मीहरुको समेत उल्लेखनीय उपस्थिति थियो ।


छलफलका क्रममा सडक दुर्घटना नेपालमा अकाल मृत्युको पहिलो कारणका रूपमा रहेकोले विद्यालय तथा विश्वविद्यालय तहबाटै यसको सुधारका लागि प्रयत्न गरिनुपर्नेमा जोड दिइयो । सहभागीहरुले अन्तरसरकारी समन्वय, सैद्धान्तिक मात्र नभई प्राविधिक तालिमको व्यवस्था र हाल आंशिक रुपमा रहेको पाठ्यक्रमलाई परिमार्जित तथा व्यवस्थित गरी देशभरिका विद्यालयका सबै तहमा लागू गर्नुपर्नेमा जोड दिए ।

Advertisement


नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सडक सुरक्षाकी पिएचडी स्कलर भगवती सेडाई, पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिनानाथ गौतम, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका प्रहरी उपरीक्षक सरोज गिरी, युथ फर रोड सेफ्टी नेपालका किरण धिताल, नासा फाउन्डेसन नेपालका सुवास भट्टराई लगायतले सडक सुरक्षामा शैक्षिक र एकेडेमिक क्षेत्रको भूमिकाका बारेमा विभिन्न प्रस्तुतिहरु दिए ।


संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापा, नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटीका प्रा. डा. रोहित कुमार पोखरेल लगायतले पनि आफ्नो धारणा तथा अनुभव प्रस्तुत गरे । सडक दुर्घटनाका पीडित सञ्चारकर्मी रविन थपलिया, डा. तारालाल श्रेष्ठ, शिक्षिका मञ्जु चित्रकार, हिसानका उपाध्यक्ष रामहरी सिलवाल तथा सडक सुरक्षा अभियानकर्मी सरोज खनालले यस किसिमको नीतिगत छलफल नेपालको सडक सुरक्षाका लागि कोसेढुङ्गा बन्ने कुरा बताए ।

Advertisement


नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले संयोजन गरेको कार्यक्रमले डा. भगवती सेडाई, मञ्जु चित्रकार र कमला क्षेत्रीसहितको एक कार्यदल गठन गरेको छ । यस कार्यदलले प्रारम्भिक तहदेखि विश्वविद्यालय तहसम्मका शैक्षिक संस्थाहरुमा सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम लागू गर्न ड्राफ्ट तयार गर्ने, लबिङ्ग गर्ने तथा सहजीकरणको कार्य गर्नेछ ।


एफआइए सेफ एन्ड सस्टेनेबल मोबिलिटी ग्रान्ट प्रोग्राम तथा एफआइए फाउन्डेसनको सहयोगमा नासा नेपालद्वारा सञ्चालित अभियान ‘भ्वाइस अफ युथ फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी’ अन्तर्गत सम्पन्न सो कार्यक्रममा तीन दर्जनभन्दा बढी व्यक्तित्वहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया