रैथाने खान्कीको पुनरोदय : ढिँडोदेखि मार्सी भाततिर आकर्षण

काठमाडौं ।
एक समय थियो, जब मानिस कोदोको ढिँडो लुकाएर खान्थे वा सार्वजनिक रूपमा ढिँडो खाएको कुरा भन्न हिचकिचाउँथे । ढिँडोलाई गरिबको खान्की मान्ने सामाजिक मानसिकताका कारण गाउँघरमा समेत यस्तै अवस्था थियो । चामलको भात धनीमानीले खाने र कोदो गरिबले खाने भन्ने धारणाले गर्दा कतिपय ठाउँमा घरभित्र ढिँडो खाएर बाहिर कुकुरलाई दूधभात दिने चलन पनि थियो ।
तर, अहिले समय बदलिएको छ । सहरबजारका ठूला होटलमा समेत मानिस ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर खाने नभई रोजाइको र मनपर्ने खाना बनेको छ । मानिसहरू अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा ‘आज ढिँडो खाइयो’ भन्दै तस्बिर पोस्ट गर्छन् ।
पहिले दुर्लभ मानिने भात अहिले विकल्पको खाना भएको छ । घरमा होस् या होटलमा, मानिसहरू सकेसम्म भात खाँदैनन् । रोटी, च्याख्ला वा ढिँडो नै रोजाइमा पर्न थालेको छ । पहिलेको धनीमानी र सानको खाना भातलाई अहिले मानिस रोगको घरका रूपमा लिन्छन् । चिकित्सकहरू नै धेरै भात नखान सुझाउँछन् र सकेसम्म अर्गानिक, रैथाने उत्पादनका खान्की तथा थोरै भात खान सल्लाह दिन्छन् ।
पहिलेको तुलनामा अहिले मानिसमा आफ्नो स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएको देखिन्छ । यसैले मानिसहरू विषादी प्रयोग नभएको, रैथाने उत्पादन र कार्बोहाइड्रेट कम भएका खानेकुरा रोज्न थालेका छन् ।
खाद्य, पोषण तथा जनस्वास्थ्यविद् डा अरुणा उप्रेतीका अनुसार पछिल्लो समय कोदो, फापर, गुद्रुक, मकै, च्याख्ला र दालभात जस्ता रैथाने अन्न धेरैको रोजाइमा पर्न थालेका छन् । रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि बजारका आधुनिक खानेकुराभन्दा रैथाने खाना नै खानुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएको उनको अनुभव छ ।
उप्रेतीले भनिन्, ‘पहिला रैथाने खाना खाँदा अपहेलित हुने अवस्था पनि थियो । तर अहिले त्यस्तो छैन, सञ्चारमाध्यमले गर्दा रैथाने खानातर्फ मानिस आकर्षित भएका छन् । पहिला मैले कोदो खाएँभन्दा मान्छेलाई अपमान महसुस पनि हुने गरेको थियो । अहिले भने पाँचतारे होटलमै पनि कोदो, फापरको रोटी ढिँडो पाउन सकिन्छ । मेन्युमा नै पनि यस्ता परिकार लेख्न थालिएको देखिन्छ ।’
रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि रैथाने खाना नै खानुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएको छ
शारीरिक व्यायाम कम हुँदै गएको र बजारका खानेकुराको मात्रा बढ्दै गएकाले अर्गानिक तरिकाबाट उत्पादन गरिएका यस्ता स्थानीय, रैथाने खानाले स्वास्थ्यलाई राम्रो गर्ने उनको सुझाव छ ।
केही वर्षअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापास्थित आफ्नो घरमा तत्कालीन नेताद्वय एवं पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको विषयले चर्चा पायो । प्रसाईंले दुई पूर्वप्रधानमन्त्रीसँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएसँगै बजारमा मार्सी चामलको चर्चा चुलियो । मार्सी चामलको ‘ब्राण्डिङ’ गरेर अहिले ललितपुरको झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ ।
मार्सी धान विशेषगरी चिसो हावापानीमा उत्पादन हुन्छ । चिसो हावापानीमा उत्पादन हुने भएकाले मार्सी चामलको खाना स्वादिलो हुन्छ । मार्सी थकालीका सञ्चालक मधुसुदन ढकालले हिमाली क्षेत्रमा उत्पादित धानलाई आफ्नो रेस्टुरेन्टले ’ब्राण्ड’ बनाएर अगाडि बढाएको बताए । मार्सी थकालीमा मार्सी खानासहित स्थानीयस्तरमा उत्पादित गुन्द्रुक, कालिज, बँधिया कुखुरा, बट्टाई, च्यांग्राको सुकुटी, गँगटा, घुँगी, लोकल कुखुरालगायत रैथाने स्वाद लिन पाइन्छ ।
काठमाडौँको लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठका अनुसार केही वर्षअघिसम्म मानिस होटलमा विशेषगरी भात खान नै आउने गरेकामा अहिले उनीहरूको खानपिनमा निकै परिवर्तन आएको अनुभव उनले सुनाए । मानिस बढी त लोकल वा रैथाने उत्पादनमा नै आकर्षित हुने गरेको बताउँदै श्रेष्ठले भात नै खोजे पनि मानिसले मार्सी चामल वा अरू नै त्यस्तै रैथाने चामलको भात खोज्ने, नत्र ढिँडोलगायत अरू खानेकुरा मन पराउने गरेको बताए ।
त्यसैले आफूले स्थानीय उत्पादन, मार्सी चामलको थाली, लोकल कुखुरा तथा गाउँघरबाटै रैथाने गेडागुडी, कालो मासको दाल र लोकल सागहरू मगाउने गरेको उनको भनाइ छ । यसै कारण अहिले सो होटल परिसरमा हरेक शनिबार बिहान स्थानीय एवं रैथाने उत्पादन जस्तै जुम्लाको सिमी, मुस्ताङको आलु, जुम्ली मार्सी चामल, फापर एवं काठमाडौँकै काँठतिरका सागसब्जी र गेडागुडीका अर्गानिक उत्पादनको बजार लाग्ने गरेको श्रेष्ठ बताउँछन् ।
सेफ्स एसोसिएसन नेपालका पूर्वअध्यक्ष एवं काठमाडौँको नागार्जुनस्थित नागार्जुन रिसोर्टका सल्लाहकार सेफ गोविन्दनरसिंह केसीले रैथाने खाना खानेको संख्या पछिल्लो समय बढ्दै गएको बताए ।
उनले भने, ‘पहिले त होटलमा गएर खाने भनेको ठूलाबडाले मात्र हो भन्ने थियो, किनभने मानिससँग पैसा नै हुँदैनथ्यो । कहिलेकाहीँ होटल जानेहरूले पनि रैथानेभन्दा पनि होटलको आधुनिक परिकार नै खोज्थे । तर अहिले त्यस्तो छैन । मानिस ठूलै होटलमा गएर पनि अर्गानिक तथा रैथाने खाना खोज्ने गरेका छन् । यो चाहिँ स्वास्थ्यसम्बन्धी एक प्रकारको चेतना पनि हो ।’
विगतमा सोल्टी होटलको सेफसमेत रहेका केसीले पहिले अहिलेजस्तो तरकारी आदिमा विषादी प्रयोग गर्ने चलन नरहेकाले होटलको खाना पनि त्यति अस्वस्थ हुँदैनथ्यो भने । केसीको अनुभवमा अहिले उत्पादन बढाउन अनेकथरी औषधि, मलको प्रयोगले गर्ने र यस्ता समाचारले मानिसमा चेतना बढेको बताउँदै काठमाडौँका मानिस रैथाने खाना तथा स्थानीय उत्पादन खोज्दै अहिले नागार्जुन रिसोर्ट जस्तै काँठ क्षेत्रका होटलमा पुग्ने गरेका छन् ।
काठमाडौँको डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्लको अनुभव पनि त्यस्तै छ । काठमाडौँको भिडभाडबाट केही पर जंगल नजिक रहेको आफ्नो रिसोर्टमा पनि स्थानीय एवं नेपाली स्वादका खानामा ’इन्जोय’ गर्न मानिस आउने गरेको उनी बताउँछन् ।
मल्लले भने, ’पछिल्लो समय नेपाली खानाप्रति मानिसको रुचि बढेको देख्छु । हामीकहाँ पनि धेरै गेस्ट काठमाडौँबाटै आउँछन् र नेपाली मात्र नभएर रैथाने र अर्गानिक खाना नै खोज्छन्, ढिँडो, गुद्रुक, सिस्नु फापर, मार्सी चामलको भात, लोकल कुखुराको झोल आदि खाने प्रचलन अहिले धेरै बढेको छ । धेरैको रोजाइ टिपिकल खाना पर्ने गर्दछ ।’
केही वर्षयता राजधानी काठमाडौँ सहरभित्रभन्दा पनि काँठ क्षेत्रमा बढी नै मात्रामा होटल रेस्टुरेन्टहरू खुलेका छन् । ती होटलमा सहरका तुलनामा धेरै नै पाहुना जाने गरेको सञ्चालकहरूको अनुभव छ ।
राजधानी काठमाडौँबाहेक नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको विमानस्थल नजिक रहेको ‘एयरपोर्ट’ थकाली, चिप्लेढुंगाको मन्त्र थकाली, फेवाताल ड्यामसाइडस्थित मोनालिसा थकाली, पोखराको नौडाँडामा रहेको भण्डारी भान्सा घर, चितवनको भरतपुरस्थित पाते ढिँडो थकाली, भरतपुरमै रहेको बाजेको माछा महललगायत थुप्रै होटल तथा रेस्टुरेन्टहरूले पारखीहरूलाई स्थानीय रैथाने खानाको स्वाद चखाइरहेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया