जैमिनीको १३२ घरधुरीमा खानेपानीको हाहाकार

समाधान संवाददाता २०८२ मंसिर २ गते १६:४३

बागलुङ ।
बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँका १३२ घरधुरीमा २०७६ सालमा ‘एक घर एक धारा’ को नारासहित कालीगण्डकीबाट लिफ्टमार्फत खानेपानी पुग्यो । तर, स्थानीयवासीको खुसी दुई वर्ष पनि टिक्न सकेन । प्राविधिक गडबडी, बाढीपहिरो र चट्याङका कारण अहिले घरका धारामा पानी आउँदैन, सुम्सावासी फेरि गाग्री बोक्न बाध्य छन् ।


सुम्साका स्थानीय कोपिला थापाका अनुसार गत असारयता आँगनको धारामा पानी आएको छैन । मुहान नभएको कारण हिउँदमा खानेपानीको चरम संकट झेल्दै आएका सुम्सावासीले नेवा र जैमिनी नगरपालिकाको सहयोगमा ८३ लाख रुपैयाँ खर्चेर लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेका थिए । तर, यो आयोजना दिगो हुन सकेन । ‘कहिले चट्याङले विद्युतका उपकरण बिग्रन्छन् त कहिले पहिरोले पाइप बगाउँछ, पाँच महिना भयो धारामा खानेपानी आउँदैन,’ थापाले दुखेसो पोखिन् ।

नेवा र जैमिनी नगरपालिकाको सहयोगमा ८३ लाख रुपैयाँ खर्चेर लिफ्ट खानेपानी आयोजनाको सम्भार भएन

Advertisement


सुम्सा खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका सचिव लालमाया पुनका अनुसार आयोजना सम्पन्न भएपछि तीनपटक समस्या आइसकेको छ । पहिलो पटक बाढीले मुहानको संरचना बगायो, त्यसपछि चट्याङले ट्रान्समिटर जलायो र अहिले पहिरोले पाइप बगाएको छ । ‘लिफ्ट योजना दिगो नहुने रहेछ,’ पुनले भनिन् ।


जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले नगरपालिकाले ४ लाख ६५ हजार रुपैयाँ खर्चेर मर्मत गरे पनि विद्युतको भोल्टेज अनियमित हुँदा उपकरणमा क्षति भएको बताए । उनले विद्युतमा एकरूपता ल्याउन सबस्टेसन आवश्यक रहेको र त्यसका लागि पहल भइरहेको जानकारी दिए ।

Advertisement


हाल सुम्सावासी मानडाँडाको मुहानको पानी पालो पर्खेर गाग्रीमा बोकेर गुजारा चलाइरहेका छन् । नगरपालिकाले लाखौँ खर्चेर बनाइएको योजना खेर जान नदिने र यसको दिगोपनाका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । रासस

तपाईको प्रतिक्रिया