पठाओ राइडर बन्न अब ८० प्रतिशत अंकसहित परीक्षा उत्तीर्ण गर्नुपर्ने

पोखरा ।
राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई थप सुदृढ बनाउँदै, राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ । कम्पनीका अनुसार, सुरुदेखि नै कक्षामा बसेर प्रशिक्षण दिने अभ्यास निरन्तरता दिँदै आएकोमा, पठाओ नेपालको सेवा देशभर फैलिँदै गएसँगै, काठमाडौँ बाहिरका चालकहरूलाई लक्षित गर्दै यो प्रक्रिया क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरिएको हो ।
पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार, राइडर बन्नका लागि ब्लूबुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र तेस्रो पक्ष बीमा अनिवार्य छ । त्यसपछि एपमा रहेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत अनलाइन प्रशिक्षण सञ्चालन हुनेछ । सो प्रशिक्षणपछि लिइने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ । परीक्षामा असफल भएकाहरू भोलिपल्ट पुनः प्रशिक्षण लिएर पुनः परीक्षा दिन सक्छन् ।
यसले राइडर बन्ने प्रक्रियालाई थप पारदर्शी र सजिलो बनाउँदै यात्रालाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखेको छ । इच्छुकहरूले पठाओ ड्राइभ एप डाउनलोड गरी अनलाइनमार्फत दर्ता प्रक्रिया सुरु गर्न सक्छन् । ड्राइभ एपमा खाता खोली आवश्यक कागजातहरू अपलोड गरिसके पछि पठाओको कार्यालयले ती कागजातहरूको जाँच गर्नेछ र सबै कागजात सही भएमा २४ घण्टाभित्र खाता प्रमाणीकरण हुनेछ ।
त्यसपछि, पठाओ ड्राइभ एपमार्फत नै अनलाइन प्रशिक्षण लिन सकिनेछ । प्रशिक्षण पूरा भइसकेपछि परीक्षामा सामेल हुन पाइनेछ, जुन पठाओ एपबाट नै दिन सकिन्छ । उक्त परीक्षामा ८० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरेपछि सम्बन्धित व्यक्तिलाई एसएमएसमार्फत सम्झौता पत्र पठाइनेछ र सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आधिकारिक रूपमा पठाओ चालक (राइडर) बन्न सकिनेछ ।
हमालले भनिन्, ‘हाम्रो लागि सुरक्षा वैकल्पिक कुरा नभई सेवाको मेरुदण्ड हो । ८० प्रतिशत अंक ल्याएर पास हुने यो प्रणालीले हाम्रो ‘सुरक्षा र जिम्मेवार सेवा’ को मानकलाई अझ मजबुत बनाउनेछ । यसले ग्राहकहरूलाई सुरक्षित, भरपर्दो र पेसागत अनुभव सुनिश्चित गर्नेछ ।’
कम्पनीको तथ्यांकअनुसार परीक्षामा लगभग ८५ प्रतिशत सहभागी पहिलो प्रयासमै उत्तीर्ण हुने र बाँकीले पुनः परीक्षा दिएर उत्तीर्ण भएको देखिएको छ । यसका साथै सक्रिय पठाओ राइडरहरूले मासिक औसत ४०–५० हजार रुपैयाँसम्मको आम्दानी गर्ने गरेको समेत तथ्यांकले देखाएको छ ।
डिजिटल प्रणाली आएपछि नयाँ दर्ता हुने चालकहरूमा उत्साहजनक सहभागिता देखिएको बताउँदै हमालले भनिन्, ‘हरेक यात्रा सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउनका लागि हामीले सुरुवाती चरणमै राइडरहरूको मूल्यांकनलाई अझ व्यवस्थित र प्रभावकारी बनाएका छौँ ।’








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया