कोरला नाकाबाट ३ महिनामा सबा ७ अर्ब बढीकाे सामान आयात

समाधान संवाददाता २०८२ मंसिर २ गते १६:४८

पोखरा ।
मुस्ताङ । उपल्लो मुस्ताङको कोरला नाका हुँदै गत भदौ ३० गतेदेखि कात्तिक ३० गतेसम्मको तीन महिनाको अवधिमा चीनबाट ७ अर्ब ३६ करोड ५८ लाख ६१ हजार रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सामान आयात गरिएको छ । लोमान्थाङ गाउँपालिकास्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट व्यावसायिक सञ्चालनमा आएपछि यो आयात भएको जनाएको छ ।


अघिल्लो भदौ ३० गतेदेखि व्यावसायिक रूपमा नाका सञ्चालनमा आएपछि सबैभन्दा धेरै आयात हुनेमा १ हजार ७ सय २६ वटा विद्युतीय (इभी) गाडी रहेका छन् । पैठारीतर्फ ८९७ मालवाहक कन्टेनर जाँचपाससँगै ३ अर्ब ६२ करोड ६९ लाख ३१ हजार २४ रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताए । प्रमुख खड्का भन्छन्, ‘भन्सार र नाकामा चहलपहल छ, चिसो बढे पनि चिनियाँ भन्सारबाट सामानहरू आउने क्रम रोकिएको छैन ।’


चीनबाट आयात मात्रै नभएर निर्यात पनि भइरहेको छ । नेपालमा उत्पादन हुने हस्तकला, कपडा लगायतका सामान ५४ ट्रकमार्फत करिब ८ करोड ३८ लाख ६३ हजार रुपैयाँको वस्तु तथा सामान निर्यात गरिएको भन्सार प्रमुख खड्काको भनाइ छ । आयातको तुलनामा निर्यात निकै कम भएकाले तिब्बती बजार क्षेत्रमा आवश्यक पर्ने वस्तु तथा सामान उत्पादन गरी बजारीकरण गर्नुपर्ने भन्सार प्रमुख खड्काले बताए ।

Advertisement


भन्सार कार्यालय, कोरला नाकाको तापक्रम माइनस १५ डिग्री सेल्सियसको हाराहारीमा पुग्ने गरेको अवस्थामा नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडकमा जमेको हिउँ पन्छाउँदै सामान ढुवानी गर्ने गरिएको छ । समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट आयात गरिएका विद्युतीय सवारीसाधनसहित अन्य सामान कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म लैजान २५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ ।


सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको यो नाका विसं २०८० कात्तिक २७ गते औपचारिक उद्घाटन भई भदौ ३० गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको थियो । यो नाका नेपालका दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो र सहज बनाउन कालीगण्डकी करिडोर निर्माण भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया