प्रचार सामग्रीमा कर लगाउन पोखरा महानगरले ल्यायो विज्ञापन ऐन, व्यवसायी भन्छन्– ‘परिचय खुल्ने बोर्डमा कर नतिरौँ’

पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रका होर्डिङ बोर्ड तथा प्रचार सामग्रीलाई नियमन र करको दायरामा ल्याउन ‘विज्ञापन ऐन २०८२’ कार्यान्वयनमा ल्याएको छ । सहरलाई कुरुप हुनबाट जोगाउने र विज्ञापनलाई व्यवस्थित गर्ने उद्देश्यले महानगरले निजी क्षेत्रसँगको छलफलपछि यो कानुन जारी गरेको हो ।
महानगरका प्रशासकीय प्रमुख आविष्कार पौडेलले विज्ञापनसम्बन्धी छुट्टै ऐन ल्याउने पोखरा देशकै पहिलो पालिका भएको दाबी गरे । उनका अनुसार ५५ दफा, ६ परिच्छेद र ५ अनुसूचीमा समेटिएको यो ऐनले पोखरालाई कुरुप बनाउने गरी प्रचार सामग्री राख्न निषेध गरेको छ । नयाँ व्यवस्थाअनुसार अब ३० फिटभन्दा अग्लो प्रचार सामग्री राख्न पाइने छैन । यस्तै, आफ्नो व्यवसायको परिचय खुल्ने ३० वर्गफुटसम्मको बोर्ड राख्दा भने कुनै शुल्क नलाग्ने नीति महानगरले लिएको छ । यसअघि पनि पोखरामा विज्ञापन कर लागू थियो, जसबाट महानगरले वार्षिक करिब ७० लाख रुपैयाँ राजश्व संकलन गर्दै आएको थियो ।
सोमबार महानगरको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको समन्वयमा ऐनबारे जानकारी दिन आयोजित कार्यक्रममा व्यवसायीहरूले भने करको दायरा फराकिलो पार्नुपर्ने तर दर बढाउन नहुनेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर प्रशासन जनमुखी हुनुपर्ने बताए । आफ्नो व्यावसायिक प्रतिष्ठानको चिनारी दिने बोर्ड राख्नु व्यवसायीको नैसर्गिक अधिकार भएको भन्दै उनले त्यस्ता बोर्डलाई करको दायरामा ल्याउन नहुनेमा संघ स्पष्ट रहेको उल्लेख गरे ।
‘आफूले तिरेको कर आफ्नै हितमा खर्च भएको छ भन्ने अनुभूति होस्, सजिलो तरिकाले कर तिर्न पाइयोस् र झन्झट नहोस्,’ अध्यक्ष कार्कीले भने, ‘आफू हेपिएको वा पेलाइमा परेको जस्तो पनि नलागोस् ।’ उनले राज्यले संकलन गरेको कर पारदर्शी ढंगले खर्च भएमात्र राजश्वको दायरा बढ्ने धारणा राखे ।
महानगरका राजश्व महाशाखा प्रमुख नवराज पौडेलले निजी क्षेत्र र सरोकारवालासँगको परामर्शपछि नै ऐन कार्यान्वयनमा ल्याइएको जिकिर गरे । यद्यपि, कार्यक्रममा सहभागी व्यवसायीले ऐन कार्यान्वयन हुँदा परिचय दिने सामान्य बोर्डमा समेत कर लाग्न सक्ने आशंका व्यक्त गरे । उनीहरूले महानगरले करमात्र थपेको तर सेवासुविधामा ध्यान नदिएको गुनासो गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धचार्य, उपाध्यक्षद्वय दिनेशचन्द्र बास्तोला र बलराम आचार्य, महासचिव शोभा गौतम, उपमहासचिव सुदीप प्रधानांग, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरू देवेन्द्र प्रजु, राम कँडेल, सुरेश घिमिरे, पृथ्वीराज तिमिल्सिना लगायतले धारणा राखेका थिए । यस्तै, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, कोषाध्यक्ष जीवन ढुंगाना तथा व्यवसायीहरू श्रीकृष्ण कतिला, नवराज आचार्य, पूर्णकुमार श्रेष्ठ लगायतले करको भारी बोकाउनुभन्दा सेवा प्रवाह चुस्त बनाउन र करदातामैत्री वातावरण निर्माण गर्न माग गरेका थिए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया