पोखरामा तार भूमिगत गर्ने काम तीव्र

पोखरा ।
पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै हल्लन चोकसम्मका तार जमिनमुनि बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले तार भूमिगत गर्ने काम यही आर्थिक वर्षभित्र सक्ने गरी भइरहेको बताए ।
सुवेदीले भने, ‘२०२६ जुन ३० सम्म परियोजनाको म्याद छ । यही गतिमा काम जारी रहे पोखरामा तार भूमिगत गर्ने काम तोकिएको अवधिमा सम्पन्न हुनेछ ।’ पोखरा जस्तै भरतपुरमा पनि तार भूमिगत गर्ने कार्य भइरहेको छ । पोखरामा ६५ प्रतिशत र भरतपुरमा ७५ प्रतिशत जति काम सम्पन्न भएको दाबी उनले गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म तार भूमिगतको काम सकिएको छ ।
यो क्षेत्रका ५०० जति घरमा भूमिगत तारबाट बिजुली बलिसकेको छ । जिरो किमीदेखि जरेबरसम्म विस्तारको काम बाँकी रहेकाले लेकसाइडमा भने तार भूमिगत भइसके पनि बिजुलीका पोल हटाउन सकिएको छैन । अहिले जिरो किमीलाई केन्द्र बनाएर सिर्जना चोक हुँदै पृथ्वी चोकमा काम हुँदै छ । त्यसै गरी सिर्जना चोकबाट जरेबरसम्म पनि काम हुँदै छ ।
आयोजना प्रमुख सुवेदीले भने, ‘यो बिचको खण्डको काम सकिनेबित्तिकै लेकसाइडमा पनि भूमिगत तारबाटै बिजुली बल्ने अवस्था हुनेछ ।’ लेकसाइडमा सबैजसो सडक जिरो किमीबाट बागलुङ जाने राजमार्गको मालेपाटनसम्म पनि काम भइसकेको छ ।
तार भूमिगत भइसकेपछि पोखराका ६ हजार घरले बत्ती बाल्न पाउनेछन् । एसियाली विकास बैंकको २ अर्ब ५० करोड ऋण सहयोगमा चलेको परियोजनाको ठेक्का भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले पाएको छ । विद्युतसँगै टेलिफोन, केबुल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर बिछ्याउने काम पनि भइरहेको छ । प्राधिकरणको कार्यविधि स्पष्ट नहुँदा टेलिफोन, केबुल र इन्टरनेट भने भूमिगत प्रणालीबाट सुरु भएका छैनन् । यो आयोजनाको पोखरा खण्डको बजेट १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का १ लाखभन्दा बढी ग्राहक रहेको वितरण केन्द्र प्रमुख जितेन्द्र यादवले जानकारी दिए । प्राविधिक कारण र भौगोलिक अवस्थाले काममा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ । २०७८ माघमा दुई वर्षभित्र काम सक्ने गरी यसको ठेक्का लागेको थियो । निर्माण कम्पनीलाई तेस्रो पटक थपिएको म्याद सन् २०२६ जुलाई ३० सम्म छ ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया