पोखरामा सिओपिडी दिवस मनाइयो

समाधान संवाददाता २०८२ मंसिर ३ गते १२:१९

पोखरा ।
सिओपिडी (श्वासप्रश्वास–सम्बन्धी) रोगबाट जोगिने उपाय तथा यसका बारेमा सचेतना फैलाउन पोखरामा बुधबार सिओपिडी दिवस मनाइएको छ । युआरएल हस्पिटलचोक डाईगोनोष्टिक प्रालिको आयोजना र पोखरा नर्सिङ क्याम्पसको सहकार्यमा कार्यक्रम गरिएको हो ।


सिओपिडी दिवस ग्लोबल इनिसियटिभ फर क्रोनिक अब्सट्रक्टिभ लङ डिजिज (गोल्ड) को अगुवाईमा हरेक वर्षको नोभेम्बरको तेस्रो बुधबार मनाइन्छ । कार्यक्रममा नर्सिङ क्याम्पसमा अध्यनरत विद्यार्थीले सिओपिडी सचेतनाका लागि सडक र्‍याली पनि गरेका थिए ।


पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फोक्सो तथा छाती रोग विशेषज्ञ बुद्धिसागर लामिछाने जुनसुकै उमेर समुहका मानिसलाई सिओपिडी हुन सक्ने बताए । धुम्रपान गर्ने, दाउरा गुईंठाहरु प्रयोग गर्ने, धुलो धुँवा लगायत प्रदुषणमा काम गर्नेहरुलाई बढी मात्रामा सिओपिडी हुने उनको भनाइ छ ।

Advertisement


दम भनेर उपचार गर्नुपूर्व चिकित्सकसँग सल्लाह लिएर डायग्नोसिस गराउनुपर्ने लामिछानेले बताए । ‘दमको औषधीले दम रोगलाई नियन्त्रण गर्छ तर, निको भने हुँदैन । धुम्रपान छोड्नु पर्छ, धुँवाधुलोबाट टाढा बस्नुपर्छ । यसबाट दमको असर कम गर्न सकिन्छ,’ उनले भने ।


युआरएलका प्रवन्धक निर्देशक सूर्य पौडेलले रोग लाग्नुअघि नै रोकथाम भन्ने कुरालाई आत्मसात गर्न आग्रह गरे । स्वास्थ्यप्रति सुरु अवस्थादेखि नै सचेत भएमा जटिल अवस्था नआउने तथा खर्च पनि कम हुने उनको भनाइ छ । सुरु अवस्थामै लक्षण पहिचान गरी आवश्यक परीक्षण गरेमा दमको उपचार सहज हुने र धेरैजसो अवस्थामा निको पार्न सकिने उनको भनाइ छ ।

Advertisement


युआरएलका क्लिनिक प्रमुख अधिकारी विक्रम थापाका अनुसार सिओपिडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भनेको फोक्सोको श्वासनलीमा अवरोध हुनु हो । सिओपिडीबाट जोगिने उत्तम उपाय भनेको स्वस्थ जीवनशैली हो ।


नेपालमा श्वासप्रस्वास सम्बन्धी फोक्सोको दीर्घकालिन रोग सिओपिडीका बिरामीको संख्या बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । कार्यक्रम सञ्चालन युआरएलका व्यवस्थापन प्रमुख हिरामणी न्यौपानेले गरेका थिए ।


सिओपिडी भएका बिरामीहरुमा खोकी लाग्ने, दम बढ्ने, खकार निस्कने, घ्यारघ्यार हुने, शरीर कमजोर हुने, खान मन नलाग्ने, जिउ दुख्ने र अक्सिजनको मात्रा कम भई छालाको रंग निलो हुने लगायतका मुख्य लक्षण र चिन्ह देखिन्छ । लामो समयदेखि सिओपिडी भएका बिरामीहरुमा सिओपिडीको कारणले मुटुमा समेत असर पार्न सक्छ जसलाई चिकित्साको भाषामा कर–पल्मोनेल भनिन्छ ।

तपाईको प्रतिक्रिया