‘एन्टिबायोटिकको दुरुपयोग रोक्न व्यवहार सुधार आवश्यक’

सञ्जय रानाभाट २०८२ मंसिर ३ गते १२:४०

पोखरा ।
एन्टिबायोटिकको अनियन्त्रित प्रयोगका कारण विश्व नै गम्भीर स्वास्थ्य संकटतर्फ धकेलिँदै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको पछिल्लो अध्ययनले सन् २०५० सम्म एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) का कारण प्रत्येक २ सेकेन्डमा १ जनाको मृत्यु हुने देखाएको छ ।


नेपालमा पनि एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै गएको छ । डब्लुएचओले सार्वजनिक गरेको सूचीमा नेपाल जोखिममा परेका १०० भन्दा धेरै मुलुकमध्ये ५२ औं स्थानमा परेको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा किरण पाण्डेले जानकारी दिए । उनका अनुसार सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै वितरण, पशुपालन र कृषि माध्यमबाट शरीरमा प्रवेश गर्ने एन्टिबायोटिक अवशेषजस्ता कारणले समस्या चर्किंदै गएको छ ।


एन्टिबायोटिक र खानादेखि पशुजन्य उत्पादनसम्ममा मिसिँदै गएको एन्टिबायोटिकका कारण नेपालीहरूको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको डब्लुएचओको रिपोर्टमा उल्लेख छ । कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, युरिक एसिडजस्ता रोग बढ्नुमा बदलिएको जीवनशैलीसँगै एन्टिबायोटिकको अनियन्त्रित सेवन पनि मुख्य कारक हुन् ।

Advertisement


नेपाल सरकारले ‘औषधि स्तर नियमावली–२०४३’ मार्फत औषधिलाई क, ख र ग समूहमा वर्गीकरण गरेको छ । क समूहमा लागुपदार्थ तथा विषाक्त औषधि, ख समूहमा एन्टिबायोटिक र हर्मोन आधारित औषधि पर्छन् । यी औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिनै बिक्री गर्न नपाइने व्यवस्था छ ।

तर देशभरका फार्मेसी (औषधि पसल) मा सामान्य रुघाखोकीदेखि हल्का ज्वरोका बिरामीलाई समेत चिकित्सकको जाँचबिनै एन्टिबायोटिक दिइँदै आइएको छ । औषधि व्यवस्था विभागले स्थानीय तहलाई नियमनको अधिकार नदिँदा समस्या झनै चर्किएको स्वास्थ्य विशेषज्ञको धारण छ ।

Advertisement

कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, युरिक एसिडजस्ता रोग बढ्नुमा बदलिएको जीवनशैलीसँगै एन्टिबायोटिकको अनियन्त्रित सेवन पनि मुख्य कारक हुन्


‘पोखरामै एन्टिबायोटिकले १५ प्रतिशतमा काम गरेन’

मंगलबार पशु सेवा विभागको आयोजना खाद्य तथा कृषि संगठनको सहयोग र पशुपंछी रोग अन्वेषण प्रयोगशालाको सहकार्यमा प्रतिजैविक प्रतिरोध सम्बन्धमा बहस भएको थियो । ‘मानवीय व्यवहारसँग जोडिएको जैविक प्रतिरोध’ विषयक संवादमा विशेषज्ञहरूले नेपालमा बढ्दै गएको एन्टिबायोटिक दुरुपयोग आगामी वर्षहरूमा अकाल मृत्युको बारे छलफल गरे ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका डा. रमेश केसी, पृथ्वीनारायण क्याम्पस मानवशास्त्र विभाग प्रमुख अर्जुन पोखरेल, डा. ग्रीष्म न्यौपाने, अधिवक्ता मीना रानाभाट र प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने प्यानलिस्टका रूपमा सहभागी थिए ।


डा. केसीले एन्टिबायोटिक दुरुपयोग नेपालका लागि गम्भीर संकट बन्दै गएको बताए । ‘अस्पतालमा गरिएको पछिल्लो अनुसन्धानमा १५ प्रतिशत केसमा औषधि नै नलाग्ने अवस्था देखियो,’ उनले भने, ‘यदि यो नियन्त्रण गरिएन भने स्वास्थ्य खर्च औधि हुन्छ, अकाल मृत्युका दर बढ्छ ।’ उनका अनुसार फर्मेसीबाट बिना नियन्त्रण बिक्री, स्थानीय सरकारले पाउने अधिकारमा औषधि व्यवस्था विभागको उदासीनता र जनचेतनाको कमी यस समस्याको मूल कारण बनेका छन् । उनले एन्टिबायोटिक नियमन स्थानीय तहमै सशक्त बनाउनुपर्नेमा जोड दिए ।


डा. ग्रीष्म न्यौपानेले पशु उपचारमा गलत रूपमा एन्टिबायोटिक प्रयोग हुनुले मानव स्वास्थ्यसम्म असर परेको बताए । ‘कतिपय अवस्थामा पशुमा एन्टिबायोटिक आवश्यक नै पर्दैन, तर अनावश्यक रूपमा प्रयोग गरिन्छ,’ उनले भने ।


उनका अनुसार पशुमा खोप विस्तारले केही हदसम्म दुरुपयोग घटाए पनि किसानमा अझै पर्याप्त जानकारी छैन । ‘डाक्टरले पनि प्रमाणमा आधारित औषधि दिनुपर्छ, किसानले पनि नलेज सेयरिङमा जोड दिनुपर्छ,’ उनले भने । मानवशास्त्री अर्जुन पोखरेलले नेपालको कृषि, स्वास्थ्य र जनजीवनमा एन्टिबायोटिकको दुष्प्रभाव गहिरिँदै गएको उल्लेख गरे । उनले माटो, मल, रासायनिक विषादी र मानवनिर्मित प्रवृत्तिले वातावरणमै एन्टिबायोटिक अवशेष फैलिने गरेको सुनाए ।


‘हामी बिनाप्रेस्क्रिप्सन औषधि किन्छौं, डाक्टरले दिएको एक हप्तामध्ये आधा मात्र खाएर रोकिन्छौं,’ पोखरेलले भने, ‘यही कारणले शरीरमा प्रतिरोध क्षमता बढ्छ र औषधि नलाग्ने अवस्था बनाउँदै ल्याउँछ ।’ उनले विद्यालय पाठ्यक्रममै एन्टिबायोटिक शिक्षा अनिवार्य गर्नुपर्ने सुझाव दिए । अधिवक्ता रानाभाटले एन्टिबायोटिक प्रतिरोधले उपभोक्ता अधिकारमै धक्का पुर्‍याइरहेको बताइन् ।


‘राज्यले विद्यालय तहदेखि नै एन्टिबायोटिकको प्रभावबारे सिकाउनुपर्छ,’ उनले भनिन्, ‘उपभोक्तालाई कृषि, पशुपालन र मानव स्वास्थ्यका जोखिमबारे सहज पहुँचमै सूचना दिइनुपर्छ ।’ उनका अनुसार जरा तह मा पुगेर सूचना विस्तार नगरेसम्म समस्या बढ्ने उनको भनाइ थियो ।

पत्रकार लामिछानेले एन्टिबायोटिकबारे गलत धारणा, झुट्टा प्रचार र भ्रमपूर्ण सूचना चिर्न मिडियाको जिम्मेवारी बढेको बताए । उनका अनुसार प्रेस काउन्सिलले साउनयता १२२ वटा मिडिया तथा मिडियाकर्मीलाई गलत वा भ्रमपूर्ण सामग्रीका लागि कारबाही गरिसकेको छ । संवादको सहजीकरण पत्रकार सञ्जयकुमार मल्लले गरेका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया