पोखरामा पहिलो पटक अटोक्रस च्याम्पियनसिप

समाधान संवाददाता २०८२ मंसिर ३ गते १२:४६

पोखरा ।
पोखरामा पहिलो पटक राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने भएको छ । पोखरा–२३ पामेमा पुस ११ गते अटोक्रस च्याम्पियनसिप हुने नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) गण्डकीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पोखरा महानगरपालिकाको प्रवद्र्धन आयोजना हुने च्याम्पियनसिपमा २ हजार सिसी क्षमताभन्दा कम र २ हजार भन्दा माथिको सिसी क्षमता भएका कारको सहभागिता रहने छ । यि २ विधामा २४ प्रतिस्पर्धीले सहभागिता जनाउने नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए । ‘प्रतियोगितामा २ हजार माथि सिसी भएका कार १२ वटा र २ हजार सिसी भन्दा कमका १२ कार ड्राइभर (खेलाडी) ले प्रतिस्पर्धा गर्नेछन्,’ उनले भने ।


च्याम्पियनसिपको लागि नासाले पामेमा ८ सय देखि १ हजार मिटर लम्बाईको रेसिङ कोर्स बनाउने अध्यक्ष श्रेष्ठले बताए । रेसिङ कोर्समा टाइम अट्याक शैलीमा सबैभन्दा कम समयमा पूरा गर्नेलाई पुरस्कृत गरिने नासाले जनाएको छ । अटोक्रस च्याम्पियनसिपले नेपालीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने दाबी नासाको छ । च्याम्पियनसिपले पोखरालाई साहसिक खेल मार्फत् पर्यटन प्रवद्र्धन एवं ओटक्रस स्पोर्ट्सलाई प्रवद्र्धन गर्ने विश्वास आयोजकले लिएका छन् ।

Advertisement


च्याम्पियनसिपमा सातै प्रदेशका अटोक्रस खेलाडी आउने दाबी समेत आयोजक गण्डकी नासाले जनाएको छ । यो च्याम्पियनसिप काठमाडौंमा हुँदै आए पनि मोफसलका सहरमा भने पहिलो पटक आयोजनाको तयारी गरिएको नासा गण्डकीले जनाएको छ । च्याम्पियनसिपका लागि नासाले आवश्यक कोर्स बनाउने काम सुरु गरिसकेको छ ।


अध्यक्ष श्रेष्ठका अनुसार कोर्ष छोटो तर चुनौतीपूर्ण हुने छ । चुनौतीपूर्ण कोर्षमा चालकले आफनो क्षमता र दक्षताको परीक्षण गर्ने मात्रै नभई मोटरप्रेमीहरुमा अटोक्रस लोकप्रिय खेल समेत रहेको नासाले उल्लेख गरेको छ । च्याम्पियनसिपलाई फेडेरेसन इन्टरनेसनल डि अटोमोबाइल (एफआइए)ले मान्यता प्रदान गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया