क्षतिग्रस्त ३ सरकारी कार्यालयलाई कृषि विकास बैंकको सहयोग

समाधान संवाददाता २०८२ मंसिर ३ गते १७:१५

पोखरा ।
कृषि विकास बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका पोखराका ३ वटा सरकारी कार्यालयलाई सेवा प्रवाहमा सहजता ल्याउन भौतिक सहयोग गरेको छ । गत २३ र २४ भदौमा देशव्यापी रुपमा भएको ‘जेन्जी’ प्रदर्शनका क्रममा पोखरामा रहेका सरकारी कार्यालयमा भौतिक क्षति पुगेपछि सेवा प्रवाह सहज बनाउने उद्देश्यले बैंकले सामग्री हस्तान्तरण गरेको हो ।


बैंकको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक घनेन्द्र अधिकारीले कास्कीका ३ वटा कार्यालयलाई जिन्सी सामान हस्तान्तरण गरे । निर्देशक अधिकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुरजकुमार देवकोटा र कास्की जिल्ला अदालतका न्यायाधीशको रोहवरमा स्रेस्तेदार राजन खनाललाई सहयोगस्वरूप जिन्सी सामान प्रदान गरे ।


त्यस्तै कार्यालयको अनुरोध र उद्योग वाणिज्य संघको सहकार्यमा मालपोत कार्यालय कास्कीका प्रमुख कालीबहादुर भुजेललाई पनि सहयोग हस्तान्तरण गरियो । उक्त हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, बैंकर्स एसोसिएसनका अध्यक्ष र उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको उपस्थिति थियो ।

Advertisement


सहयोगस्वरूप हस्तान्तरण गरिएका सामग्रीहरूमा पावर ब्याकअप, कम्प्युटर, प्रिन्टर लगायत रहेका छन् । बैंकले हरेक कार्यालयलाई १ लाख रुपैयाँ बराबरको जिन्सी सामग्री उपलब्ध गराएको हो । यो सहयोग बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको बैंकले जनाएको छ ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका निर्देशक अधिकारीले जलेर क्षति भएको कार्यालयबाट आमनागरिकको दैनिक सरोकार रहने सरकारी कार्यालयको सेवा प्रवाहमा सहजता प्रदान गर्न सहयोग गरिएको बताए । उनले भने, ‘सहयोग गर्ने अवसर प्रदान गरेकोमा सम्बन्धित सरोकारवाला सबैलाई धन्यवाद दिँदै प्रदान गरिएका सामग्रीको उचित संरक्षण र प्रयोगबाट सेवाग्राहीलाई सहज सेवा प्राप्त हुने विश्वास लिएको छु ।’

Advertisement

तपाईको प्रतिक्रिया