पोखरा महानगरको जीवनोपयोगी सीप शिक्षामा १४ सय विद्यार्थी

पोखरा ।
पोखरा महानगरपालिकाले स्थानीय पाठ्यक्रमको अनिवार्य विषयक्षेत्र अन्तर्गत जीवन उपयोगी सीपसँग सम्बन्धित शिक्षा लागु गरेको छ । बाल हितकारी परियोजना नेपाल र किडाशाको प्राविधिक सहयोगका उक्त शिक्षालाई स्थानीय पाठ्यक्रममा समेटेको महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।
संस्थाको बुधबार भएको २५ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रममा निर्देशक आचार्यले जीवनोपयोगी सिप शिक्षाले शिक्षा क्षेत्रमा नयाँ मानक स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले महानगरले निर्माण गरेको स्थानीय पाठ्यक्रममा समावेश भएको जीवनोपयोगी सीप सम्बन्धी पाठ्यवस्तुको शिक्षा सामाग्री नभएको अवस्थामा दुबै संस्थाले शिक्षक सहजीकरण निर्देशिका प्रकाशन गरेर सहयोग गरेको बताए ।
संस्थाका अध्यक्ष रामचन्द्र शर्माले महानगर शिक्षा महाशाखाको समन्वय र सहयोगमा सरकारी विद्यालयमा सञ्चालित कार्यक्रमबाट सामुदायिक विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिए । उनले सन् २०२२ देखि नयाँ रुपमा सञ्चालित परियोजनाबाट यो वर्ष महानगरका २० विद्यालयका १ हजार ४ सय विद्यार्थीलाई समेटेको बताए । उनले संस्थाले लामो समयदेखि देखाएको सक्रियता तथा विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवाला निकायहरुमा देखिएको सकारात्मक उपलब्धिलाई मध्यनजर राख्दै महानगर सहयोग गरेको बताए ।
‘महानगरले विस २०७८ मा आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गर्दा जीवन उपयोगी सीप अन्तर्गत १८ पाठ्यघण्टाको समय समय छुट्टाएको छ,’ उनले भने, ‘सो शिक्षा स्थानीय पाठ्यक्रममा समावेश भएसँगै विद्यार्थीको आत्मजागरण अनुभूति, प्रभावकारी सञ्चार, अन्तरव्यक्ति सम्बन्ध र समस्या समाधान गर्ने कलाको विकास भएको छ ।’ उनले सो शिक्षा पाएका विद्यार्थीको निर्णय गर्ने क्षमता, संवेग नियन्त्रण, तनाव व्यवस्थापन, सिर्जनात्मक तथा समालोचनात्मक चिन्तनको विकास भएको दाबी गरे ।
उनले संस्था महानगरपालिकाका ८० सामुदायिक विद्यालयमा कार्यक्रम गर्न सफल भएको जनाए । पोखरा १५का वडा अध्यक्ष तोरणबहादुर बानियाँले सभाको उद्घाटन गर्दै महानगर र संस्थाको साझेदारीमा जीवनोपयोगी सीप शिक्षा सिकाइ सहजीकरण निर्देशिका तयार गरेको बताए । उनले उक्त सीप शिक्षा समुदाय स्तरमा निकै प्रभावकारी भएको उल्लेख गरे ।
स्थानीय पाठ्यक्रम विकास कार्यदलका संयोजक समेत रहेका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले शिक्षक सहजीकरण निर्देशिकाले शिक्षकको लागि शिक्षण विधिमा सहजता र नवीनतम तरिकाहरुको समावेशिकरणमा महत्वपूर्ण सहयोग पुर्याएको जानकारी दिए । विद्यार्थीका लागि रोचक र व्यावहारिक शिक्षा प्रणालीद्वारा जीवनोपयोगी सीप विकासमा निर्देशिकाले सहयोग पुर्याएको उल्लेख गर्दै उनले समुदायका लागि सिकाइलाई सबैको पहँुचमा राख्दै शैक्षिक समानता प्रवद्र्धनमा समेत पुस्तिका कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
समाजिक परीक्षणका सहजकर्ता निकिता कोइरालाले बढ्दो उमेरका बाल बालिकाको लागि जीवनोपयोगी सीप शिक्षा कार्यक्रम धेरै उपयोगी भएको जानकारी दिइन् ।
साधारण सभाले २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई सुधार सहित पारित गरेको संस्थाका कार्यकारी निर्देशक ठाकुरप्रसाद चापागाईले जानकारी दिए । सभाले आगामी वर्षको लागि कार्ययोजना समेत निर्माण गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, दातृ निकाय किडाशाका वित्त नियन्त्रक वशन्तराज पराजुली, गैरसरकारी संस्था महासंघ नेपाल कास्कीका अध्यक्ष इन्दिरा पौडेल, राष्ट्रिय बालअधिकार परिषद् प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरुङ, बाल हितकारी परियोजना नेपालका उपाध्यक्ष पार्वती पाण्डे, सल्लाहकार जगतबहादुर पहारी, संस्थाका मानव संशाधन विभागका प्रमुख सूर्यबहादुर भण्डारी, संस्थाका कर्मचारी संगीता भण्डारी, अभिभावक सूर्यप्रसाद पोखरेल लगायतले बाल बालिकाको क्षेत्रमा संस्थाले गरेका कामको बारेमा बोलेका थिए । २०५४ सालमा स्थापना भएर कास्की र लमजुङमा दिवा शिशु स्याहार केन्द्र खोल्दै काम थालेको संस्थाले बाल बालिकाको स्वास्थ्य, शिक्षा, संरक्षणको क्षेत्रका काम गर्दै आएको छ ।









इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया