संरक्षण शिक्षकको पारिश्रमिक वृद्धि गर्न माग

सुन्दरकुमार थकाली २०८२ मंसिर ४ गते १०:४२

जोमसोम ।
संरक्षण शिक्षा अध्यापन गराउने संरक्षण शिक्षकहरूले पारिश्रमिक वृद्धि गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयसमक्ष माग गरेका छन् । बुधबार यहाँ आयोजित कार्यक्रममा वारागुङ, घरपझोङ र थासाङ गाउँपालिका अन्तर्गतका ११ वटा संरक्षण शिक्षा लागु भएका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले समयसापेक्ष रूपमा पारिश्रमिक वृद्धि गर्न एक्याप कार्यालयलाई मौखिक अनुरोध गरेका हुन् ।


एक्याप जोमसोमले यहाँको वातावरण शिक्षा, अनुसन्धान तथा ज्ञान व्यवस्थापन गर्न विद्यालय सहयोग कार्यक्रम चलाइरहेको छ । जसमध्ये इलाका संरक्षण कार्यालयमातहत रहेका तीन पालिकाका एघार विद्यालयमा ‘प्रकृति सन्देश’ भाग एक, दुई र तीनका पाठ्यपुस्तक वितरण भई कक्षा ६, ७ र ८ का विद्यार्थीलाई अध्यापन गराइएको छ । यसैका लागि एक्यापले संरक्षण शिक्षा पढाइरहेका एघार विद्यालयका एघार शिक्षकलाई प्रतिशिक्षक मासिक एक हजार पारिश्रमिक दिने गरेको छ । तर, एक्यापले उपलब्ध गराउने उक्त पारिश्रमिक समयसापेक्ष नभएको शिक्षकहरूको गुनासो छ ।


एक शिक्षकलाई संरक्षण शिक्षाका लागि मासिक १२ पिरियड अध्यापन गराउनुपर्ने भएको र एक्यापको मासिक १ हजार पारिश्रमिक ज्यादै न्यून भएको भन्दै यसमा पुनर्विचार गरी वृद्धि गर्न सामूहिक अनुरोध गरेका ज्ञानोदय माध्यमिक विद्यालयका प्रअ अनन्तराज आचार्यले जानकारी दिए ।

Advertisement

१२ पिरियडको मासिक १ हजार पारिश्रमिक ज्यादै न्यून भएको गुनासो


यहाँको इलाका संरक्षण कार्यालय जोमसोमले चालु आव २०८२/०८३ का लागि संरक्षण शिक्षासँग सम्बन्धित कार्यक्रम तथा बजेट चौध लाख ८८ हजार रहेको जानकारी दिएको छ ।

Advertisement

यहाँका कार्यालय प्रमुख एवं संरक्षण अधिकृत राजेश गुप्तका अनुसार प्रअ र संरक्षण शिक्षकहरूसँगको समन्वयात्मक गोष्ठीमा एक लाख ८ हजार ७५०, ’प्रकृति सन्देश’ किताब प्रकाशनमा बाउन्न हजार ७५०, ग्रिन फोर्स क्लब गठन तथा परिचालनमा अठासी हजार, संरक्षण शिक्षक पारिश्रमिक एक लाख ३२ हजार, विद्यालय मसलन्द खर्च छैसठ्ठी हजार, एघार विद्यालयका २२ जना विद्यार्थीलाई छात्रवृत्ति छैसठ्ठी हजार, माध्यमिक विद्यालयस्तरीय २ जना विद्यार्थीका लागि छात्रवृत्ति साठी हजार, विद्यार्थी सचेतना तथा लघु भ्रमण एक लाख ६५ हजार र विभिन्न दिवस र सप्ताह मनाउन एक लाख ५० हजार बजेट विनियोजन भएको संरक्षण अधिकृत गुप्तले उल्लेख गरे ।


यसैगरी चालु आवमा एक्याप जोमसोमले ताक्लुङ आधारभूत विद्यालयमा सोलार वाटर हिटर जडानमा दुई लाख र लुप्रा आधारभूत विद्यालयको छात्रावास तारबारमा ४ लाख बजेट विनियोजन भएको कार्यालय प्रमुख एवं संरक्षण अधिकृत गुप्ताको भनाइ छ ।


प्रअ र संरक्षण शिक्षकसँग एक्यापको समन्वयात्मक गोष्ठीमा यहाँका संरक्षण शिक्षा लागु भएका विद्यालयहरूले शिक्षकको पारिश्रमिक वृद्धिका अलावा विद्यालयहरूलाई समेटी अवलोकन भ्रमण गराइनुपर्ने, फोहोरमैला व्यवस्थापन सामग्री, अध्ययन सामग्रीलगायत सामान्य पूर्वाधारहरूको व्यवस्थापन गर्न एक्याप कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया