‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो

असोज र कात्तिकमा करिब १५ हजार जनाले आधार शिविरको भ्रमण गरे
म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुंगे पुल नहुँदा आवतजावतमा समस्या भएको छ ।
नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको उक्त पदमार्गको नारच्याङ–हुमखोला खण्डको कच्ची सडक र हुमखोला–आधारशिविर खण्डमा रहेका अस्थायी पुल (साँघु र फड्के) हरुको स्तरोन्नति गर्नुपर्ने भएको छ । पदयात्रीहरुको चाप बढेपछि अस्थायी पुलमा आलोपालो गरेर हिँड्नुपर्ने अवस्था आएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।
स्थानीय सिप र प्रविधिको प्रयोग गरेर निर्माण भएको अस्थायी पुललाई पर्यटकको चापसँगै स्तरोन्नति गर्नुपर्ने भएको उनले बताए । पुलमा काठको फ्ल्याक बिछ्याइएको छ । लठ्ठाहरु हल्लिँदा वारपार गर्न जोखिम भएको हो । भारी बोकेर पुल तर्न गाह्रो हुने गरेको छ । पुलको दायाँबायाँ जाली पनि छैन । कतिपय ठाउँमा काठका साँघुबाट खोला तर्नुपर्छ ।
हुमखोला, फुतफुते झरना, रेडवाटर फल, सुनखोला र पञ्चकुण्डमा रहेका काठे पुल परिवर्तन र स्तरोन्नति गर्नुपर्ने देखिएको हो । पञ्चकुण्ड तालको छेउबाट आधार शिविर जाने बाटोमा खोलामाथि राखिएको काठमा हिउँ जम्ने र चिप्लने समस्या छ ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशबिन्दुमा पर्ने हुमखोलामा ६० मिटर लामो झोलुंगे पुल निर्माणको तयारी गरेको जनाएको छ । गाउँपालिकाका सबइन्जिनियर बालकृष्ण पौडेलले सामग्रीहरु खरिद भइसकेको पुल निर्माण गर्न उपभोक्ता समिति गठन र सम्झौतापछि काम अघि बढाउने बताए ।
फुतफुते झरनामा झोलुंगे पुल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । पृष्ठभूमिमा झरनाहरु अवलोकन गर्दै तस्विर, भिडियो खिच्ने ठाउँसमेत रहने गरेर पुल बनाउन डिजाइन गरिएको उनले बताए ।
अन्य ठाउँमा पुल बनाउनका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरेको गाउँपालिकाले जनाएको छ । हालै मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर आएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले झोलुंगे पुल, खानेपानी, सञ्चार, विद्युत् सुविधा विस्तार र पदमार्ग स्तरोन्नतिका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए ।
समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दुरिमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको छ । असोज र कात्तिक महिनामा करिब १५ हजार जनाले आधार शिविरको भ्रमण गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए ।
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रदर्शक लाक्पा आङवु शेर्पाले बताए ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।
नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नक्सांकन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।
सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।
विसं २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हीरक जयन्तीले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ । पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयवासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए । रासस








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया