भगवतीका विद्यार्थीलाई स्टेसनरी तथा नगद वितरण

समाधान संवाददाता २०८२ मंसिर ४ गते १६:२९

अन्नपूर्ण ।
अन्नपूर्ण ९, तिखेढुंगास्थित भगवती माध्यमिक विद्यालयमा बुधबार कमसार्की–सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रस्टले विद्यार्थीलाई स्टेसनरी एवम् शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेको छ ।

Advertisement


फाउन्डेसन ट्रस्टका संस्थापक रामबहादुर गुरुङले विगत ११ वर्षदेखि आफ्ना बुबाआमाको स्मृतिमा वर्षेनी उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग तथा नगद पुरस्कार प्रदान गर्दै आएको बताए ।

उनले विद्यार्थीलाई शिक्षामा थप उत्प्रेरित गर्न आफूले व्यक्तिगत रुपमा विगतदेखि हालसम्म सहयोग गर्दै आएको र यसरी नै आगामी दिनमा समेत विद्यालयको थप प्रगति हेर्न चाहेको कुरा व्यक्त गरे ।

Advertisement

कक्षा ४ बाट ११ सम्म प्रत्येक कक्षाबाट २.८ जिपिए वा सोभन्दा माथिल्लो जिपिए ल्याई उत्तीर्ण हुन सफल विद्यार्थीमध्ये प्रथमलाई तीन हजार, द्वितीयलाई दुई हजार र तृतीयलाई एक हजार नगदसहित प्रमाणपत्रबाट १६ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीमध्ये सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने रेनुका विक, उत्कृष्ट सरसफाइमा मुस्कान विक तथा उत्कृष्ट हाजिरीमा सोफिन पुन र करुणा विक पुरस्कृत हुन सफल भएका थिए । उक्त कार्यक्रममा नै सावेत युके मिलन समाजको तर्फबाट प्रदान हुने एसईईमा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीलाई जनही २० पाउन्डका दरले नगद पुरस्कार समेत वितरण गरिएको थियो ।

Advertisement


पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरणसँगै विद्यालयमा भएका ११४ विद्यार्थी तथा १९ जना शिक्षकलाई स्टेसनरी वितरण गरिएको कार्यक्रममा बोल्दै विद्यालयका आर्थिक समिति संयोजक मे. हितमान गुरुङले स्व. कमसार्की परिवारले यो विद्यालय मात्रै नभई समाज र देशलाई समेत योगदान गर्दै आएको बताए ।

विद्यालयका प्रधानाध्यापक कीर्तिराज ढकालले धर्म गर्न मन्दिरमा भन्दा पहिले विद्यालय जानुपर्ने र शिक्षामा गरिएको लगानी वर्तमानका लागि मात्रै नभई भविष्यका लागि समेत भएको बताए । उनले अहिलेको समाजका धेरै व्यक्तिले आफ्ना सन्ततिको मात्र चिन्ता लिने गरेको समयमा आफ्ना स्वर्गीय बुबाआमाको स्मृतिमा शिक्षा क्षेत्रमा यति ठूलो र निरन्तर सहयोग गरेकामा फाउन्डेसनप्रति कृतज्ञता प्रकट गरे ।


कार्यक्रमको अध्यक्षता गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गुरुङले विद्यालयको स्वर्ण जयन्ती वर्ष चलिरहेको र यो महोत्सवलाई सबै पक्षबाट सफल पार्न दाताहरुको सहयोग समेत आवश्यक हुने बताए ।

उनले माटो सुहाउँदो शिक्षा दिनका लागि विद्यालयले प्रयास गरिरहेको र निकट भविष्यमा सरकारी निकायबाट आवश्यक दरबन्दी पाएमा कक्षा ११, १२ मा व्यवस्थापन र होटल व्यवस्थापनका विषयहरु समेत पढाउने कुरामा आफू सकारात्मक रहेको बताए । कक्षा ७ की विद्यार्थी जसमिना गुरुङले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक खेमबहादुर पुनले गरेका थिए ।

तपाईको प्रतिक्रिया