विजयपुर पुलमा गिर्डर जडान सुरु, हरेक आधा घन्टामा बाटो खुलाइने

पोखरा । पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पोखरा खण्डमा पर्ने विजयपुर खोलाको निर्माणाधीन पुलमा ‘गिर्डर लन्चिङ’ (पुल क्षेत्रबाहिर तयार पारिएका गिर्डरलाई पुलमाथि स्थापना गर्ने) कार्य सुरु भएको छ । पोखराको ‘लाइफलाइन’का रूपमा हेरिएको र पोखरा महानगरपालिकाको वडा नम्बर १४ र २६ लाई जोड्ने यो पुलमा शनिबार औपचारिक पूजा गरी गिर्डर राख्ने कामको शुभारम्भ गरिएको हो ।
गिर्डर जडान कार्यले गति लिँदा सवारी आवागमन भने शुक्रबारदेखि केही दिन प्रभावित हुने भएको छ । आयोजनाको पश्चिम खण्डले सूचना जारी गर्दै निर्माणाधीन पुलमा काम गर्नुपर्ने भएकाले आगामी ६ दिन (मंसिर ११ गते) सम्म निश्चित समयका लागि सडक बन्द गरिने जनाएको छ । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरादेखि विजयपुर हुँदै तालचोक चल्ने सवारीसाधनहरू रोकिनेछन् ।

दैनिक २/२ घण्टा सडक रोक्ने सूचना जारी भए पनि यातायातको अत्यधिक चापलाई मध्यनजर गर्दै लचिलो व्यवस्थापन अपनाइने भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार प्रत्येक आधा–आधा घण्टामा बाटो खुलाउने प्रयास गर्ने सहमति भएको छ । यद्यपि, कुनै गिर्डर राख्न आधा घण्टाभन्दा बढी समय लागेमा वा कुनै प्राविधिक समस्या देखापरेमा सबैले धैर्यपूर्वक आफ्नो पालो पर्खेर सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । विकासका काममा सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै प्रमुख आचार्यले धैर्य गर्न आग्रह गरेका छन् ।

सडक बन्द भएको समयमा यात्रु तथा चालकलाई सहजता प्रदान गर्न आयोजनाले वैकल्पिक मार्गहरूको प्रयोग गर्न सुझाएको छ । जसअनुसार मोटरसाइकल, स्कुटर तथा साना चारपांग्रे सवारीसाधनले बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने भित्री बाटो प्रयोग गर्न सक्नेछन् । त्यसैगरी बस, ट्रकजस्ता ठूला तथा गरुंगो सवारीसाधनले भने पावरहाउस चोकबाट बाघमारा हुँदै बिरौटा निस्कने मार्ग प्रयोग गर्नुपर्नेछ ।
निर्माण कम्पनी तथा परामर्शदाता कम्पनीले गिर्डर जडानको पहिलो चरणको काम यही मंसिर ११ गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिएका छन् । आयोजनाले यो समयावधिभर ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकाय तथा आम सर्वसाधारणमा अनुरोध गरेको छ । तोकिएको समयमा अत्यावश्यक काम परेका यात्रुले वैकल्पिक मार्ग प्रयोग गरी वा समय तालिका ख्याल गरेर मात्र यात्रा गर्न आयोजनाले आग्रह गरेको छ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया