रैथाने माछा संरक्षण अभियान सुरु
‘धानभन्दा माछाको उत्पादन ८ गुणा बढी गर्न सकिन्छ’

लेखनाथ । विश्व मत्स्य दिवस २०२५ को अवसरमा पोखराको फेवातालमा ५ हजार स्थानीय जातका माछाका भुरा छाड्दै ताल तथा नदी प्रणालीमा रैथाने माछा संरक्षण अभियान प्रारम्भ गरिएको छ । ‘नदी र तालहरुको व्यवस्थापन गरी जलचरहरुको संरक्षण गरौं’ भन्ने नारासहित सञ्चालन गरिएको उक्त अभियानले लोपोन्मुख स्वदेशी माछा जातको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
यस अवसरमा सहर, नैनी, रहु लगायत ५ हजारभन्दा बढी स्थानीय माछाका भुरा फेवातालमा छाडिएको हो । ती भुरा बेगनासताल मत्स्य अनुसन्धान केन्द्रबाट ल्याइएको थियो । कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको मत्स्य अनुसन्धान केन्द्र पोखराको मुख्य आयोजना तथा नेपाल फिसरिज सोसाइटी काठमाडौं, हर्पन फेवा मत्स्य सहकारी संस्था लि. र जलारी दिदी–बहिनी समूह पोखरा–६ बैदामको सह–आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास निर्देशनालय पोखराका प्रमुख ग्रीष्मराज न्यौपानेले ताल तथा जलाशय क्षेत्रमा विषादी प्रयोगले पर्यावरणमा प्रतिकूल असर पारिरहेको भन्दै त्यसको रोकथाममा सबैले ध्यान दिनुपर्ने बताए । उनले पोखराको फेवाताल लगायतका तालमा स्वदेशी जातका माछा संरक्षण गर्न स्थानीयदेखि सरकारी निकायसम्म सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै माछा मानव स्वास्थ्यका लागि पुस्टिकर स्रोत भएकोले यसको प्रवद्र्धनमा जोड दिए ।
कार्यक्रमका सभापति तथा मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा. महमद इक्वाल हुसेनले विश्व मत्स्य दिवसको अवसरमा संरक्षण अभियान स्वरूप ५ हजार भुरा छाडिएको जानकारी दिए । उनका अनुसार पोखरा क्षेत्र र कास्की जिल्लामा स्वदेशी जातका माछा लोपोन्मुख अवस्थासम्म पुगेकाले संरक्षण अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता छ ।
उक्त कार्यक्रममा मत्स्य वैज्ञानिक डा. झरेन्द्र पन्तले पोखरा क्षेत्रमा माछापालन व्यवसायलाई आधुनिक प्रविधि र पूर्वाधारमार्फत विस्तार गर्नुपर्नेमा जोड दिँदै भने, ‘धानभन्दा माछाको उत्पादन आठ गुणा बढी गर्न सकिने सम्भावना छ । तालमा पिँजडाको प्रयोगसँगै माछा संरक्षणमा सकारात्मक सुधार भएको छ ।’ उनले माछा पालनबाट आय आर्जन वृद्धि हुने, रोजगारी सिर्जना हुने र माछा खानाले बौद्धिक क्षमता वृद्धि हुने वैज्ञानिक तर्क प्रस्तुत गरे । साथै, तालमा हुने गैरकानुनी माछा सिकार रोक्न प्रहरी सहयोगमा निगरानी बढाइएको पनि बताए ।
सह–आयोजक हर्पन सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले जलाशयको सरसफाइ, व्यवस्थापन र संरक्षणमा कार्य गर्न सरकारी निकायले सहयोग गर्नुपर्ने माग गरे । उनले जलारी समुदायको पारम्परिक मत्स्य व्यवसाय अस्तित्व संकटमा परेको उल्लेख गर्दै, ‘ताल भनेको भकारी हो । आवश्यकता अनुसार माछा मारौं, तर जथाभावी होइन,’ भन्दै माछा प्रजननका ठाउँहरूको संरक्षणमा सरोकारवाला सबैको ध्यानाकर्षण गराए ।
कार्यक्रमका अन्तिम चरणमा पोखराको लेकसाइड क्षेत्र हुँदै सचेतनामूलक र्याली आयोजना गरिएको थियो, जसमा सहभागीहरूले माछा तथा जलचर संरक्षण सम्बन्धी सन्देश सहित प्रदर्शन गरेका थिए । कार्यक्रम सञ्चालन मत्स्य अनुसन्धान केन्द्र पोखराकी प्रमुख प्रशासन सहायक भगवती थापाले गरेकी थिइन् । विश्व मत्स्य दिवसका अवसरमा गरिएको यस प्रकारको अभियानले जलचर संरक्षण, ताल व्यवस्थापन तथा जैविक विविधता जोगाउन दीर्घकालीन प्रभाव पार्ने विश्वास सरोकारवालाले व्यक्त गरेका छन् ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया