प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि चुनावबाटै निकास खोज्ने कांग्रेसको निर्णय, आगामी निर्वाचनमा भाग लिने

समाधान संवाददाता २०८२ मंसिर ६ गते १८:४३

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरे पनि वर्तमान राजनीतिको निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा भाग लिने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टी कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी दिएको छ । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा निर्वाचनमार्फत नै संविधानको रक्षा तथा प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिने कांग्रेसको निष्कर्ष छ । संसद विघटनको उपक्रम संविधानको परिकल्पना तथा अदालतको व्याख्या विपरीत रहेको र यो कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको कांग्रेसले दोहोर्‍याएको छ । यद्यपि अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेको र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट हुने अन्तिम व्याख्यालाई स्वीकार गर्दै निर्वाचनमा जाने निर्णय बैठकले गरेको हो ।

कांग्रेसले गत भदौ २३ गते ‘जेन–जेड’ पुस्ताका युवाहरूको आह्वानमा भएको प्रदर्शन र त्यसपछिका घटनाक्रमबारे गम्भीर समीक्षा गरेको छ । भदौ २३ गतेको प्रदर्शनका क्रममा १९ जना युवाले ज्यान गुमाउनु परेको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । त्यस्तै भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण प्रदर्शनकारी तथा सुरक्षाकर्मीसहित ५७ जनाको ज्यान गएको र सयौँ नागरिक घाइते भएको घटनाले राज्यविहीन अराजकताको स्थिति सिर्जना गरेको कांग्रेसले उल्लेख गरेको छ । उक्त हिंसात्मक घटनामा लुटिएका सुरक्षाकर्मीका हातहतियार तत्काल फिर्ता गराउन र विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिन सरकारसँग माग गरिएको छ ।

Advertisement

भदौ २४ को घटनाक्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण स्थानमा आक्रमण भएको र पार्टी सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी आरजु राणा देउवामाथि सांघातिक आक्रमण भएको विषयलाई कांग्रेसले गम्भीर रूपमा लिएको छ । देउवा निवासमा भएको तोडफोड, लुटपाट र आगजनीका साथै केन्द्रीय पदाधिकारी र १२५ भन्दा बढी नेताका निजी निवासमा भएको आक्रमणलाई कांग्रेसले अराजनीतिक, आपराधिक र विध्वंसकारी भन्दै भत्सर्ना गरेको छ । पार्टी सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा पठाएको लिखित मन्तव्यलाई बैठकले अनुमोदन गर्दै उनी र आरजु राणाको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको भन्दै कांग्रेसले हाल हजारौँ कैदीबन्दी फरार रहनु र ठूलो परिमाणमा हातहतियार हराइरहनु चिन्ताको विषय भएको बताएको छ । तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन र आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ । जेन–जेड पुस्ताले उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शिता जस्ता विषयलाई सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद आवश्यक रहेको कांग्रेसको ठहर छ । यसका लागि विघटित प्रतिनिधिसभाका दलहरू, नयाँ उदाएका दलहरू, जेन–जेड पुस्ता र नागरिक समाजसँग संवाद गरी साझा राष्ट्रिय समझदारी निर्माण गर्न पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Advertisement

मुलुक गम्भीर राजनीतिक संकटमा रहेकाले संयमता र धैर्यताका साथ एकताबद्ध हुन कांग्रेसले सबैलाई अपिल गरेको छ । कुनै पनि राजनीतिक दल वा समूहबाट हिंसा भड्काउने, सद्भाव खल्बलाउने र निषेधको राजनीति गर्ने कार्य स्वीकार्य नहुने भन्दै कांग्रेसले संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ । जेन–जेड प्रदर्शन र त्यसपछिको राजनीतिक घटनाक्रमको अध्ययन तथा दस्तावेजीकरण गर्ने निर्णय गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको अर्को बैठक मंसिर ११ गते बिहीबार बस्ने तय गरेको छ ।

तपाईको प्रतिक्रिया