प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि चुनावबाटै निकास खोज्ने कांग्रेसको निर्णय, आगामी निर्वाचनमा भाग लिने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरे पनि वर्तमान राजनीतिको निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा भाग लिने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टी कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी दिएको छ । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा निर्वाचनमार्फत नै संविधानको रक्षा तथा प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिने कांग्रेसको निष्कर्ष छ । संसद विघटनको उपक्रम संविधानको परिकल्पना तथा अदालतको व्याख्या विपरीत रहेको र यो कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको कांग्रेसले दोहोर्याएको छ । यद्यपि अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेको र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट हुने अन्तिम व्याख्यालाई स्वीकार गर्दै निर्वाचनमा जाने निर्णय बैठकले गरेको हो ।
कांग्रेसले गत भदौ २३ गते ‘जेन–जेड’ पुस्ताका युवाहरूको आह्वानमा भएको प्रदर्शन र त्यसपछिका घटनाक्रमबारे गम्भीर समीक्षा गरेको छ । भदौ २३ गतेको प्रदर्शनका क्रममा १९ जना युवाले ज्यान गुमाउनु परेको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । त्यस्तै भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण प्रदर्शनकारी तथा सुरक्षाकर्मीसहित ५७ जनाको ज्यान गएको र सयौँ नागरिक घाइते भएको घटनाले राज्यविहीन अराजकताको स्थिति सिर्जना गरेको कांग्रेसले उल्लेख गरेको छ । उक्त हिंसात्मक घटनामा लुटिएका सुरक्षाकर्मीका हातहतियार तत्काल फिर्ता गराउन र विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिन सरकारसँग माग गरिएको छ ।
भदौ २४ को घटनाक्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण स्थानमा आक्रमण भएको र पार्टी सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी आरजु राणा देउवामाथि सांघातिक आक्रमण भएको विषयलाई कांग्रेसले गम्भीर रूपमा लिएको छ । देउवा निवासमा भएको तोडफोड, लुटपाट र आगजनीका साथै केन्द्रीय पदाधिकारी र १२५ भन्दा बढी नेताका निजी निवासमा भएको आक्रमणलाई कांग्रेसले अराजनीतिक, आपराधिक र विध्वंसकारी भन्दै भत्सर्ना गरेको छ । पार्टी सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा पठाएको लिखित मन्तव्यलाई बैठकले अनुमोदन गर्दै उनी र आरजु राणाको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको भन्दै कांग्रेसले हाल हजारौँ कैदीबन्दी फरार रहनु र ठूलो परिमाणमा हातहतियार हराइरहनु चिन्ताको विषय भएको बताएको छ । तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन र आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ । जेन–जेड पुस्ताले उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शिता जस्ता विषयलाई सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद आवश्यक रहेको कांग्रेसको ठहर छ । यसका लागि विघटित प्रतिनिधिसभाका दलहरू, नयाँ उदाएका दलहरू, जेन–जेड पुस्ता र नागरिक समाजसँग संवाद गरी साझा राष्ट्रिय समझदारी निर्माण गर्न पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मुलुक गम्भीर राजनीतिक संकटमा रहेकाले संयमता र धैर्यताका साथ एकताबद्ध हुन कांग्रेसले सबैलाई अपिल गरेको छ । कुनै पनि राजनीतिक दल वा समूहबाट हिंसा भड्काउने, सद्भाव खल्बलाउने र निषेधको राजनीति गर्ने कार्य स्वीकार्य नहुने भन्दै कांग्रेसले संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ । जेन–जेड प्रदर्शन र त्यसपछिको राजनीतिक घटनाक्रमको अध्ययन तथा दस्तावेजीकरण गर्ने निर्णय गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको अर्को बैठक मंसिर ११ गते बिहीबार बस्ने तय गरेको छ ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया