बाबुराम, जनार्दन र सन्तोष परियार समूहबीच आज पार्टी एकता, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ बन्ने

समाधान संवाददाता २०८२ मंसिर ७ गते ६:०६

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेता जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग्गिएका सन्तोष परियार नेतृत्वको समूहबीच आज (आइतबार) औपचारिक रूपमा एकता हुँदै छ। यी तीनै समूहले राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान ११ बजे विशेष कार्यक्रमका बीच एकता घोषणा गर्ने अन्तिम तयारी गरेका छन्।

एकता प्रक्रियामा सामेल तीनै पक्षबीच नयाँ दलको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ राख्ने सहमति जुटेको छ। निर्वाचन प्रयोजनका लागि यो दल पहिल्यै दर्ता भइसकेको बताइएको छ। एकीकृत पार्टीको चुनाव चिन्हका रूपमा नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रयोग गर्दै आएको ‘आँखा’ नै कायम गरिने भएको छ। यद्यपि, पार्टीको झण्डाको टुङ्गो भने लाग्न बाँकी रहेको छ।

Advertisement

पार्टीको महाधिवेशन सम्पन्न नभएसम्मका लागि सामूहिक नेतृत्व प्रणाली अपनाइने भएको छ। जसअनुसार विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व समेटिने गरी करिब ५ देखि ६ जना सदस्य रहने अध्यक्षमण्डलले पार्टी सञ्चालन गर्नेछ।

आइतबारको औपचारिक घोषणाका लागि तीनै पक्षले आ–आफ्नो आन्तरिक तयारी र भेला सम्पन्न गरिसकेका छन्। एकता सभाअघि भट्टराई समूहले तीनकुनेमा, शर्मा समूहले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टै स्थानमा भेला तथा छलफल गरेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया