बेनी अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा ठप्प, चार जिल्लाका बिरामी मारमा

समाधान संवाददाता २०८२ मंसिर ७ गते १२:१४

म्याग्दी । म्याग्दीको सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा पूर्ण रूपमा बन्द भएको छ । कार्यरत चिकित्सकले गत कात्तिकमा राजीनामा दिएर गएपछि प्रदेश सरकारले अर्को चिकित्सकको व्यवस्थापन गर्न नसक्दा यो सेवा ठप्प भएको हो ।

विशेषज्ञ सेवा नहुँदा म्याग्दी र मुस्ताङसहित पर्वतको जलजला र बागलुङको ताराखोलाका गर्भवती महिलाहरू प्रत्यक्ष मारमा परेका छन् । बेनी अस्पतालको तथ्यांक हेर्दा यहाँ वार्षिक १२० देखि १५० जना गर्भवतीले शल्यक्रियामार्फत प्रसूति सेवा लिने गरेका थिए । अहिले गाउँबाट आएका बिरामीलाई उपचार सम्भव नहुने भन्दै बागलुङ र पोखरा रिफर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

प्रसूति व्यथाले च्यापेका बिरामीलाई टाढाको अस्पताल लैजानुपर्दा सास्ती भोग्नुपरेको अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले गुनासो गरे । उनले श्रीमतीलाई सुत्केरी गराउन बागलुङ लैजानुपरेको बताए । ‘विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव नहुने जनाउँदै पठाएपछि बागलुङ लैजान बाध्य भएँ,’ गुरुङले भने, ‘प्रसूति सेवाका लागि जिल्लाबाहिर जानुपर्दा समय र आर्थिक भार बढेको छ ।’

Advertisement

केही वर्षअघिसम्म धवलागिरि अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालबाट रिफर भएर आएका गर्भवतीको समेत बेनीमा सफल शल्यक्रिया हुने गरेको थियो । तर, अहिले जनशक्ति अभावमा अस्पताल आफैँ थला परेको छ । अस्पतालका निमित्त प्रमुख डा रामु सापकोटाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको स्वीकार गरे ।

‘हामीले गरेको विज्ञापनमा कोही आउनुभएन,’ सापकोटाले भने, ‘प्रदेशको स्वास्थ्य मन्त्रालयमा समस्याका बारेमा जानकारी गराए पनि हालसम्म चिकित्सक आउनुभएको छैन ।’ निक साइमन इन्स्टिच्युटको सहयोगमा २०७१ सालदेखि यहाँ शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएको थियो । दाताको कार्यक्रम सकिएपछि प्रदेश सरकारले यसलाई निरन्तरता दिँदै आएको थियो । जनशक्ति नहुँदा अहिले हाडजोर्नी तथा नशारोगबाहेक अन्य शल्यक्रिया सेवा पनि बन्द छन् ।

Advertisement

अस्पतालको नेतृत्व र व्यवस्थापनमा प्रदेश सरकारले बेवास्ता गरेको गुनासो बढ्न थालेको छ । गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकार मातहतका अस्पतालका व्यवस्थापन समितिहरू नेतृत्वविहीन छन् । जिल्ला समन्वय समितिका प्रमुख नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि यो अवस्था आएको हो । गण्डकीका ११ वटै जिल्लाका अस्पताल व्यवस्थापन समिति अहिले नेतृत्वविहीन छन् ।

अस्पतालमा देखिएको चिकित्सक अभाव र व्यवस्थापनको समस्याबारे म्याग्दी क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले कात्तिक तेस्रो साताको प्रदेशसभा बैठकमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद भण्डारीले भने, ‘मैले शनिबार मात्र स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई फोनमार्फत तत्काल समस्याका विषयमा जानकारी गराएँ, उहाँले एक हप्ताभित्र समस्याको समाधान गर्छु भन्नुभएको छ । यसमा प्रदेश सरकार गम्भीर बन्नुपर्छ । स्वास्थ्यजस्तो विषयमा सरकारले बेवास्ता गर्‍यो ।’

बेनी अस्पतालमा बर्सेनि ६० हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । यहाँ अन्तरंग र बहिरंगसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचारकक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र र डायलायसिस सेवा सञ्चालनमा रहेका छन् । रासस

तपाईको प्रतिक्रिया