बन्दीपुरमा १० गतेबाट महोत्सव

समाधान संवाददाता २०८२ मंसिर ७ गते १६:४५

दमौली ।
पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मंसिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइ समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ ।


‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्धनः स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक एवं इकाइ सभापति घनश्याम उपाध्यायले बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । बन्दीपुर नेपालकै पर्यटकीय गन्तव्यस्थल रहेकाले यसको थप प्रवर्द्धनमा महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ ।


यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरु एवं प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलको पहिचान, प्रचारप्रसार गरी बन्दीपुरको आर्थिक उन्नतिमा टेवा पुर्‍याउने लक्ष्य राखिएको उनले उल्लेख गरे । महोत्सव २ लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

Advertisement


महोत्सवभर ५ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवका क्रममा धार्मिक तथा ऐतिहासिक स्थल खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, चामुण्डामाई भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुन्द सेन दरबार तथा मार्ग, टुँडिखेल, रानीवनको भ्रमण गराइनेछ ।


महोत्सवका क्रममा सहासिक पर्यटन खेलहरु चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइक्लिङिको मज्जा लिन सकिनेछ । महोत्सवमा व्यापारिक सामग्रीका ७९, विभिन्न घरेलु तथा हस्तकलाका तीन, कृषि उपजका दश, सेवामूलक संस्थाको एक, होटल रेष्टुरेन्टका आठ, सूचना केन्द्र एक, अटो कम्पनीका दुई लगायत स्टल रहनेछन् । बन्दीपुर गाउँपालिका संरक्षक रहेको महोत्सवको प्रवर्धकमा तनहुँ उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय छ ।

Advertisement


महोत्सवले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले वाचा गरे । भ्रमण वर्षका अवसरमा विविध कार्यक्रम गर्ने निर्णय बमोजिम महोत्सव गर्न लागिएको उनको भनाइ छ ।


भ्रमण वर्षलाई लक्षित गरी हरेक महिना गाउँपालिकाभित्र र बाहिर गरी दुई वटा कार्यक्रम गर्ने गरिएको उनको भनाइ छ । सोही अनुसार गत भदौ १६ गते होटल एसोसिएसन बन्दीपुरको संयोजकत्वमा काठमाडौँमा बन्दीपुर प्रवर्धन कार्यक्रम गरिएको र त्यसले बन्दीपुरको पर्यटनलाई थप टेवा पुगेको उनको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया