लेखनाथ महोत्सव पुस पहिलो साता हुने

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साताबाट २१ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
संघले पुस ३ देखि १४ गतेसम्म पोखरा २७ को तालचोकमा महोत्सव गर्दै छ । संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको उल्लेख गरिन् । उनले विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाइन् ।
महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबाबु भटृराईले विषम आर्थिक परिवेशमा मेला, महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपूर्ण रहेको बताउँदै व्यवसायी तथा आम सर्वसाधारणको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव गर्न लागिएको जनाए । मेला, महोत्सवले स्थानीय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्नुका साथै क्रेता, बिक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव प्रयोग हुने भटृराईको दावी छ ।
महोत्सवका विशेष आर्कषणमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामान, विद्युतीय उपकरण, फर्निचरका सामान, भान्छामा प्रयोग हुने मालसामान, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरण, लेखनाथ क्षेत्रका गतिविधि छन् । यस्तै, फुड फेस्टिभल, अटोमोबाइल लगायतको प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघ, संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादन लगायतको बिक्री एवं प्रदर्शनी रहने छन् ।
यस वर्ष महोत्सवमा शान्ति दूत गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवद्र्धन कार्यक्रम, विजनेस टक सो र मोटीभेसनल स्पिच, जातजातिका रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी र्याली, रत्यौली गीत कार्यक्रम, शैक्षिक प्रदर्शनी, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धनसम्बन्धी टिकटक प्रतियोगिता, कन्टेन्ट क्रिएसन प्रतियोगिता, सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ ब्यान्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारबाट लोकदोहोरी तथा स्टेज सो, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार छन् ।
महोत्सव हेर्न सर्वसाधारणका १ सय, विद्यार्थीका लागि ५० र बेलुका सुगम संगित÷कन्सर्टका लागि २ सयको टिकट लाग्नेछ । महोत्सवको बचत रकमबाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशलिता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रर्वद्धनका साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिनेछ ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव भरतराज ओझा, वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोला, पत्रकार सरिता तिमिल्सिना पँगेनी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, गृहलक्ष्मी ग्याँस कम्पनी प्रालिका महाप्रबन्धक भीमराज लामिछाने लगायतले गरेका थिए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।
३ सय ३५ स्टल रहने यस महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव गर्नका लागि ८५ लाख खर्च लाग्ने र १० लाख बचत हुने आयोजकको अनुमान छ ।








कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण
एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
मुस्ताङमा ६२ करोड बढीको आलु बिक्री
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया