४९ जिल्लाका सवा ६ लाख नागरिकलाई गरिब परिचयपत्र वितरण

काठमाडौं । सरकारले देशभरका ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र बाँडेको हो ।
मन्त्रालयले गरिबीको स्तरअनुसार तीन रङका परिचयपत्र वितरण गरेको छ । अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेंलो र सामान्य गरिबलाई नीलो परिचयपत्र दिइएको छ । ४९ जिल्लाबाहेक अन्य १५ जिल्लामा पनि २ लाख गरिबको पहिचान भएको छ । ती जिल्लाका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहमा पठाइएको र वितरण प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।
गरिबी निवारणका कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न यो कार्डले सहज बनाउने मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले बताए । उनले भने, ‘परिचयपत्रका आधारमा गरिबले राज्यबाट पाउने सेवासुविधा उपलब्ध गराइने भएकाले स्थानीय तहमार्फत नै परिचयपत्र वितरण गरिएको हो ।’
यसअघि गरिब लक्षित कार्यक्रम एकीकृत नहुँदा सुविधामा दोहोरोपना र दुरुपयोग हुने समस्या थियो । अब परिचयपत्रका आधारमा स्वास्थ्य बिमा, छात्रवृत्ति, सीपमूलक तालिम र खाद्य सुरक्षालगायतका कार्यक्रम प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । वास्तविक गरिबको पहिचान भएकाले राज्यको सुविधा लक्षित वर्गसम्म पुग्ने र उनीहरूको जीवनस्तर सुधार हुने विश्वास सहायक प्रवक्ता वाग्लेले व्यक्त गरे ।
गरिब पहिचानका लागि सरकारले विभिन्न १८ वटा सूचकलाई आधार बनाएको थियो । बाँकी रहेका १३ जिल्लामा पनि सर्वेक्षण पूरा भई वितरण कार्य प्रक्रियामा रहेको छ । परिचयपत्र वितरण गर्नुअघि घरपरिवार सर्वेक्षणमार्फत गरिबको पहिचान तथा वर्गीकरण गरिएको थियो ।
गरिबी अन्त्य गर्ने उद्देश्यले सरकारले विसं २०५९ सालमा गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर यो काम थालेको थियो । विसं २०७५ देखि मन्त्रालयले यो कार्यक्रमलाई तीव्रता दिएको हो । यो कार्यक्रमका लागि अहिलेसम्म १ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया