औषधी सिफारिस जेनेरिक नाममा

समाधान संवाददाता २०८२ मंसिर ८ गते १०:३४

पोखरा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अबदेखि चिकित्सकहरुलाई औषधी सिफारिस गर्दा कम्पनीको नाम (ट्रेड नेम) नभई ‘जेनेरिक नाम’ उल्लेख गर्न निर्देशन दिएको छ । प्रतिष्ठानका निर्देशक प्रेमराज पंगेनीले आइतबार सूचना जारी गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा अन्तर्गतका सबै स्वास्थ्य इकाइमा कार्यरत विभागीय प्रमुखहरूलाई जेनेरिक नाममै औषधी सिफारिस हुने प्रणाली कार्यान्वयन गराउन निर्देशन दिएका हुन् ।


बिमा कार्यक्रममा समावेश बिरामीका लागि औषधी सिफारिस गर्दा ‘कम्बाइन मेडिसिन’ सिफारिस नगर्न पनि निर्देशनमा भनिएको छ । यसअघि ‘नीतिगत सुधारका लागि नागरिक अभियान’ले २६ कात्तिकमा प्रतिष्ठानलाई मागपत्र बुझाउँदै चिकित्सक र स्वास्थ्यकर्मीले ट्रेड नेम प्रयोग गर्दै बिरामीलाई महँगा औषधी किन्न बाध्य बनाइरहेको आरोप लगाएको थियो ।

अभियानका संयोजक गणेशबहादुर थापाको नेतृत्वमा बुझाइएको उक्त मागपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५, जेनेरिक औषधी सुझाव समितिको प्रतिवेदन, त्रिवि शिक्षण अस्पतालको परिपत्र तथा नेपाल मेडिकल काउन्सिलको आचारसंहिताले स्पष्ट रूपमा ‘जेनेरिक नाममै औषधि लेख्नुपर्ने’ व्यवस्था रहेको भन्दै त्यसको कार्यान्वयन माग गरिएको थियो ।

Advertisement


अभियानले कानुनी प्रावधान विपरीत चिकित्सकहरूले कम्पनीको नाममा औषधी सिफारिस गर्दा निम्न तथा मध्यम वर्गका नागरिकको मौलिक स्वास्थ्य अधिकार नै प्रभावित भएको भन्दै जेनेरिक नाम उल्लेख गर्न ध्यानकर्षण गराएका थिए । सरकारी अस्पतालमा सस्तो वा निःशुल्क पाउनुपर्ने औषधीको सट्टा महँगा औषधि किन्नुपर्ने बाध्यता सिर्जना भएको र बिमित बिरामीले निजी फार्मेसीबाट उच्च मूल्य तिर्दै आएका छन् । अस्पतालले जेनेरिक नाम नै उल्लेख सबै निकायका डाक्टरलाई निर्देशन दिएको छ ।


यसअघि थापा नेतृत्व नीतिगत सुधारका लागि नागरिक अभियानले केही चिकित्सक र स्वास्थ्यकर्मीले औषधी उत्पादक कम्पनी वा प्रतिनिधिबाट आर्थिक प्रलोभनमा परेर महँगा औषधि सिफारिस गर्ने गरेको आरोपसमेत लगाएको थियो । समान गुणस्तरका कम मूल्यका औषधि सहजै उपलब्ध हुँदाहुँदै महँगा ब्रान्डेड औषधी मात्र सिफारिस गरिनु अनुचित भएको थापाले समाधानलाई बताए ।

Advertisement

‘नीतिगत सुधारका लागि नागरिक अभियान’ले मागपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब औषधी सिफारिस जेनेरिक नाममा गर्ने


‘जेनेरिक नाम उल्लेख गर्दा कुनै पनि सेवाग्राही ठगिने अवस्था हुँदैन । महँगो औषधीले बिरामीलाई भार थप्दै आएको थियो । अस्पतालले हाम्रो मागलाई स्वीकार गरेर जसरी कार्यान्वयनका लागि तत्परता देखाएको छ । जुन कार्य स्वागत योग्य छ,’ थापाले भने ।


फार्मेसीमा उपलब्ध औषधीको खुद्रा मूल्य सूची सर्वसाधारणले हेर्न मिल्ने गरी राख्न पनि अभियानले माग गरेको छ । औषधी सिफारिस प्रणालीलाई पारदर्शी, निष्पक्ष र सर्वसुलभ बनाउन प्रतिष्ठानसँग सहकार्य गर्दै निरन्तर निगरानी अभियान चलाउने अभियानको तयारी छ ।


यता, प्रतिष्ठानका निर्देशक सहप्राडा प्रेमराज पगेनीले मागपत्र बुझ्दै प्रतिष्ठानले सेवा प्रवाह, शैक्षिक गतिविधि र अनुसन्धानलाई सुदृढ बनाउन निर्देशनसमेत दिएका थिए । उनले अस्पतालमा ल्याइने औषधी टेन्डर प्रक्रियामार्फत ल्याइने, औषधी ‘जिएमपी सर्टिफाइड’ हुनुपर्ने र औषधी व्यवस्था विभागमा दर्ता अनिवार्य हुने व्यवस्थालाई कडाइका साथ पालन गर्दै आएको यसअघि जानकारी दिएका थिए । ‘हामीले चिकित्सकलाई धेरैअघि नै जेनेरिक नाममा औषधि लेखिदिन अनुरोध गर्दै आएका छौं,’ पगेनीले भने, ‘अब यसको प्रभावकारी कार्यान्वयनका लागि हामी अझ कडाइ गर्छौं ।’


प्रतिष्ठानले गरेको यो निर्णयले औषधी सिफारिस प्रणालीलाई पारदर्शी, किफायती र जनमैत्री बनाउन सहयोग पुग्ने अभियानका संयोजक थापाले अपेक्षा गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालका ९स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये एक हो । वि.सं. २०७२ सालमा व्यवस्थापिका संसदबाट पारित भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका माध्यमबाट सिंगो मुलुकलाई नै टेवा पुयाउँदै आएको छ । स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य राखेर प्रतिष्ठान स्थापना गरिएको हो । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाका स्नातक र स्नातकोत्तर तर्फका कार्यक्रम सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया