मुस्ताङीलाई हिउँदे बाली लगाउने चटारो

सुन्दरकुमार थकाली २०८२ मंसिर ८ गते ११:३८

जोमसोम।
मुस्ताङका ३ पालिकामा कृषकलाई हिउँदे बाली लगाउने चटारो चलेको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिका अन्तर्गतका कृषकहरू हिउँदे खाद्य बाली उवा र जौ लगाउन व्यस्त देखिएका छन् ।


यहाँका मध्य मुस्ताङ र तल्लो मुस्ताङमा दुई बाली खेती गरिन्छ । माथ्लो मुस्ताङका कृषकले बर्सेनी एक बाली मात्रै खेती गर्ने परम्परा छ । यहाँका तीन पालिकामा फापर बाली, मकै र आलु लगायतका बर्खेबाली थन्क्याएपछि यहाँका कृषकले हिउँदे बालीका लागि उवा र जौ बालीको खेती गर्ने प्रचलन छ ।


यहाँका कतिपय कृषकले बर्सेनी एक बाली मात्रै खेती गरेको पाइन्छ । यहाँ एक बाली मात्रै खेती गर्ने कृषकले जेठ र असार महिनामा बर्खेबाली फापर, मकै, सिमी र आलु खेती गर्नका लागि बाँझो जग्गालाई सिँचाइ गरी आवश्यक खनजोत गरी बाँझो पल्टाएर तयारी अवस्थामा राख्छन् ।

Advertisement


त्यसो त मुस्ताङमा खेतीयोग्य जमिन कम भएको र अधिकांश खेतीयोग्य जमिनमा स्याउ खेती विस्तार भएकाले यहाँका कृषकले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, मकै, आलु र फापर लगायत खेती गर्ने प्रचलन छ । मुस्ताङका कृषकहरू यतिबेला हिउँदे बालीका उवा र जौ बाली लगाउन व्यस्त रहेको घरपझोङ गाउँपालिकाका कृषक राजेन्द्र शेरचनले जानकारी दिए । हिउँदे बालीका लागि सिँचाइको व्यवस्था गर्ने, बाँझो जग्गालाई गोरु/झोपा र पावर ट्रेलरको प्रविधिको सहयोगमा खेतबारी खनजोत गर्ने कार्य भइरहेको किसान शेरचनको भनाइ छ ।


जोमसोमका किसान शेरचनका अनुसार मंसिरमा खेतबारीमा लगाइएको हिउँदे खाद्य बाली उवा र जौ औसत दुई सय दिन अर्थात् छ महिनामा उत्पादन हुने भएकाले जेठ र असार महिनामा उवा र जौ भित्र्याउने प्रचलन रहेको जानकारी दिए । हिमाली क्षेत्रमा उत्पादन हुने सदियौँ वर्ष पुरानो उवा र जौ खेती यहाँको रैथाने बाली हो ।

Advertisement

समुद्री सतहको एक हजार ९८४ मिटरको उचाइदेखि चार हजार मिटरको उचाइसम्म उवा र जौ खेतीको उत्पादन हुन्छ । यहाँको तल्लो मुस्ताङ अन्तर्गत वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकामा मंसिरमा खेतबारीमा उवा र जौ छरेर असारमा थन्क्याउने गरिन्छ । यसैगरी माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डमा चैत÷वैशाखमा उवा र जौ छरेर असोज महिनामा भित्र्याउने प्रचलन छ ।


मुस्ताङका किसानले उवा र जौ बालीलाई घरायसी प्रयोजनमा मात्रै खेती गर्ने प्रचलन रहेको घरपझोङका अर्का किसान अजित थकालीले बताए । स्याउ र आलुको व्यावसायिक खेती गरिने भए पनि परम्परागत रैथाने बालीहरू धार्मिक पूजाआजा, घरेलु मदिरा उत्पादन र घरायसी प्रयोजनमा उपयोग हुँदै आइरहेको किसान थकालीको भनाइ छ । यहाँ मुस्ताङीले उवा र जौ भुटेर सातु बनाएर खाने प्रचलन रहेको छ । पछिल्लो समय ठिनी थकाली सामुदायिक होमस्टेमा यहाँको रैथाने बाली उवा, जौ र फापरको विविधीकरण गरी विभिन्न परिकार निर्माण गर्ने क्रम सुरु भइसकेको छ ।


यहाँका परम्परागत उवा र जौ पोषिलो, स्वादिलो र स्वास्थ्यवद्र्धक खाद्य बालीको रूपमा स्थापित भइरहेको छ । यहाँको रैथाने बाली उवा र जौ झट्ट हेर्दा गहुँ जस्तै खाद्य बाली हो । अन्य खेतीको तुलनामा उवा र जौ खेती परम्परागत रूपमा झन्झटिलो हुने भएकाले कतिपय किसानले उवा र जौ खेती पछ्याउन छाडिसकेका छन् । मुस्ताङमा करिब १५० हेक्टर क्षेत्रफलमा उवा र जौ खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया