मुस्ताङमा मतदान केन्द्र थपघट गर्न सिफारिस

मुस्ताङ ।
सरकारले घोषणा गरेको २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मुस्ताङले यहाँको एक मतदान केन्द्रलाई मर्ज गर्ने र अर्को एक मतदान केन्द्र थप गर्ने गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ को दफा ८ मा व्यवस्था भएअनुसार एक मतदान केन्द्रलाई ठाउँ सारी (मर्ज) गर्ने र अर्को एक मतदान केन्द्र थप्ने गरी निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
कार्यालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गत २० कार्तिक र ३० कार्तिक महिनामा बसेको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण बैठकले मतदान स्थल तथा केन्द्र निर्धारण गर्न आयोगमा सिफारिससहितको पत्र पठाएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीले उल्लेख गरे ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा—२ स्थित सम्जुङ स्थित मतदान केन्द्रलाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयको मतदान केन्द्रमा ठाउँ सारी (मर्ज) गरिएको छ ।
लोमान्थाङ स्थित सम्जुङ मतदान केन्द्रमा अघिल्लो प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ७४ जना मतदाता रहेका थिए । त्यस संख्यामा मतदाता अद्यावधिक र नयाँ थपिएका मतदाताले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सोही वडाको छोसेर स्थित दिव्यदीप माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्न पाउँने व्यवस्था मिलाउन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकृत ज्ञवालीले बताए । योसंगै दिव्यदीप मतदान केन्द्रमा अघिल्लो निर्वाचनमा २८० जना मतदाता रहेकामा सम्जुङ मतदान केन्द्रका मतदान थपिने भएका हुन् ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण सिंचाई र खानेपानीका मुहान सुक्दै जान थालेपछि सिंगो सम्जुङ गाउँ लोमान्थाङ—२ नामासुङमा स्थान्तरण भएको थियो । नामासुङबाट सम्जुङमा मतदान गर्न जान समस्या हुने भएकाले त्यहाँका मतदाताहरुलाई दिव्यदीप माध्यमिक विद्यालयको मतदान केन्द्रमा ठाउँ सारी (मर्ज) गर्नु परेको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीको भनाइ छ ।
यसैगरी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—४ मा यसअघिको एक मतदान केन्द्रलाई वृद्धि गरी अर्को एक मतदान केन्द्र थप गर्न आयोगमा सिफारिस गरिएको छ । लोघेकर—४ को यारा आविमा रहेका १४९ जना मतदाता रहेकामा ७४ जना मतदातालाई घारा आधारभुत मतदान केन्द्रमा मतदान गर्न पाउँने व्यवस्था मिलाउन आयोगमा सिफारिस भएको जिल्ला निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए ।
लोघेकरको घाराबाट मतदान केन्द्र यारा मतदान केन्द्रमा आईपुग्न सामान्यतया एक देखि दुई घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेकाले घाराका ज्येष्ठ नागरिक,अपांगता भएका र अशक्त मतदाताहरुको सजिलोका लागि नयाँ मतदान केन्द्र सृजना गरिएको हो ।
वि.स. २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा जिल्लाका पाँच स्थानीय तहमा ३९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो । यसपालि २१ फागुनमा हुने मतदानका लागि पनि ३९ वटै मतदान केन्द्रको संख्या रहने गरी एक मतदान केन्द्रको ठाउँसारी (मर्ज) र एक मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले बताएको छ ।
यसैगरी मुस्ताङमा निर्वाचन आयोगले तोकेको म्याद कार्तिक ५ गतेसम्म २७१ जना मतदाता थपिएका छन् । कार्यालयका अधिकारी ज्ञवालीका अनुसार बायोमेट्रिकबाट एक सय ४३ जना र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली दर्ता गर्नेको संख्या १२८ जना रहेका छन् । यसैगरी जिल्ला बाहिरका २८ जना मतदाताले कार्यालयमा आएर मतदाता नामावली दर्ता गराएका छन् ।








‘लैंगिक हिंसामुक्त समाज निर्माण सबैको साझा जिम्मेवारी’
गण्डकीमा हिमाल आरोहणको आकर्षण अझै बढ्न सकेन
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
पोखरामा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु
तपाईको प्रतिक्रिया