गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तर्क्रिया

समाधान संवाददाता २०८२ मंसिर ८ गते १८:५७

पोखरा । गण्डकी विश्वविद्यालयमा बिए एलएलबी अध्ययनरत विद्यार्थीलाई गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्माले प्रशिक्षण दिएका छन् । विश्वविद्यालयको मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले ‘संघीय प्रणाली र प्रदेश सरकारको औचित्य तथा विधिको शासन कायम गर्न मुख्य न्यायाधिवक्ताको भूमिका’ विषयमा प्रशिक्षण तथा अन्तरक्रिया भएको हो ।

कानन तथा व्यवस्थापन संकायका डिन प्रा हेमराज गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता शर्माको प्रस्तुति रोचक, सान्दर्भिक र व्यवहारिक रहेको सहभागी विद्यार्थी, प्राध्यापक तथा कर्मचारीले बताए । कार्यक्रमका प्रमुख अतिथि निमित्त उपकुलपति तथा रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा सह–न्यायाधिवक्ता बिपना भण्डारी पनि सहभागी थिइन् ।

Advertisement

डा तिमिल्सिनाले गण्डकी विश्वविद्यालयमा अध्ययनरत कानुनका विद्यार्थीहरू सकारात्मक सोच, नेतृत्व क्षमता र सक्रिय सहभागिताका कारण सदैव अग्रसर रहेको बताउँदै हौसला प्रदान गरे । उनले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि मुख्य न्यायाधिवक्ता जस्तो अनुभवी र सम्मानित व्यक्तित्वले प्रशिक्षण प्रदान गर्नु विश्वविद्यालयका लागि गौरवको विषय भएको बताए ।

डिन प्रा हेमराज गिरीले कानुन अध्ययनमा संलग्न विद्यार्थीहरू अनुभवशील व्यक्तित्वबाट व्यवहारिक ज्ञान सिक्न निरन्तर तत्पर रहनुपर्नेमा जोड दिए । कार्यक्रममा छात्रा सुमिका गौतमले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरिन् । अधिवक्ता एवं कानुन संकाय प्रमुख रविकुमार सिलवालको सञ्चालनमा सम्पन्न प्रशिक्षण कार्यक्रममा विद्यार्थी मनोज सुवेदीले धन्यवाद ज्ञापन गर्दै सफलतापूर्वक सम्पन्न कार्यक्रममा सहभागिताका लागि सबैप्रति कृतज्ञता व्यक्त गरे । संयोजक सिलवालले विशेषज्ञसँग विद्यार्थीको साक्षात्कार तथा अन्तरक्रिया गराउन कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता गरे ।

Advertisement

तपाईको प्रतिक्रिया