पानीको बोत्तलमा भेटियो लेउ

समाधान संवाददाता २०८२ मंसिर ९ गते ११:०५

पोखरा ।
पोखरा ७ मासबारमा रहेको कमल किराना पसलमा बिक्रीका लागि राखिएको नेसनल ब्रान्डको पानीको बोतलमा लेउ जस्तो ‘च्याँख्ला’ भेटिएको छ । बेच्नका लागि राखिएका बोतलमा आँखाले देखिने र स्पष्ट रुपमा पहिचान गर्न सकिने लेउ जस्तो च्याँख्ला भेटिएपछि पसल सञ्चालक वसन्त गिरीले खाद्य तथा गुण नियन्त्रण कार्यालयमा बुझाएका छन् ।


मासबारमा किराना पसल सञ्चालन गरिरहेका वसन्तले पानी बेच्न राख्ने क्रममा असामान्य पदार्थ देखेर कम्पनीलाई खबर गरेको समाधानलाई बताए । ‘खबर गर्न खोजें, उहाँहरु सम्पर्कमा आउनुभएन,’ वसन्तले भने । पसलमा बिक्रीका लागि राखिएको कार्टुनमा रहेका पानीका बोतल साउन ३० गते प्रशोधित गरिएको उल्लेख छ ।


बोतलमा छापिएको जानकारी अनुसार निर्माण मितिबाट ६ महिनासम्म उपभोग गर्न मिल्ने हुँदा आगामी माघसम्म उक्त पानी पिउनयोग्य हुने देखिन्छ । तर, प्रशोधनको ३ महिनाभित्रै पानी अखाद्य वस्तु भेटिएको हो ।

Advertisement


उनले बिक्रीका लागि १४ कार्टुन पानी लिएको सुनाए । ‘अहिले त मसँग ६ कार्टुन छ । यसअघि कतैबाट गुनासो त आएको थिएन, तर आज एक्कासि पानीको बोत्तल हेर्दा यस्तो भेटियो, केही प्याकेटमा यस्तो वस्तु छ, केहीमा छैन,’ उनले भने, ‘हामीले किन्दा बोत्तल–बोत्तल खोलेर हेर्दैनौँ । तर केही बोत्तलमा लेउका च्याँख्ला देखियो, हेरेर पानी खान सक्ने अवस्था छैन ।’

पोखरा ७ मासबारमा बेच्न राखिएको नेसनल पानीको बोत्तलभित्र लेउ जस्तो ‘च्याँख्ला’ भेटिएको छ

Advertisement


उनले प्रतिबोत्तल १२.५० रुपैयाँमा पानी खरिद गरेको सुनाए । ‘पहिला गाडीमै लिएर आउँथे । धेरै दिनदेखि यो कम्पनीको गाडी पनि आएको छैन,’ वसन्तले भने । पानीबारे गुनासो आएपछि खाद्य तथा गुण नियन्त्रण कार्यालय कास्कीका निरीक्षक दीपक कुँवरले सोमबार घटनास्थलमै पुगेर बोत्तल प्रत्यक्ष अवलोकन गरेका छन् ।


निरीक्षणपछि पानीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम आवश्यक प्रक्रिया सुरु भएको र ल्याब रिपोर्ट १–२ दिनभित्र आउने कार्यालयका प्रमुख विजन श्रेष्ठले बताए ।


उनका अनुसार बोतलमा देख्न मिल्ने लेउ जस्तो च्याँख्ला छ । उनले अब रिपोर्ट आएपछि मात्रै पानी सुरक्षित छ कि छैन भन्ने पत्ता लाग्ने जानकारी दिए । ‘आँखाले हेर्दा त्यो खान नमिल्ने नै छ । तर, रिपोर्टले के देखाउँछ, त्यसका लागि १÷२ दिन कुर्नुपर्छ,’ श्रेष्ठले भने ।


नेसनल ब्रान्डको यो पानी जय दुर्गा मिनरल वाटर उद्योगले प्रशोधन गर्दै आएको हो । प्रशोधन स्थल पोखरा २५ हेमजा लेखिएको छ । कम्पनीले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति लिएको श्रेष्ठले जानकारी दिए ।

‘लाइसेन्स त लिएको रहेछ, तर रिन्यु भयो कि छैन, हेर्दै छौं,’ प्रमुख श्रेष्ठले भने । पानीको गुणस्तरबारे गुनासो आएपछि बुझ्न समाधानले बोत्तलमा उल्लिखित फोन नम्बर ९७६६५९७१०० र ९७६६५९७१०१ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । खानेपानी जस्तो संवेदनशील वस्तु गुणस्तरहीन भेटिनुले प्रशोधन प्रक्रिया कमजोरसँगै अनुगमनको बाटो फितलो रहेको देखाएको छ ।

अनुगमनबारे श्रेष्ठसँग प्रश्न गर्दा उनले नियमित अनुगमन भइरहेको तर्क गरे । प्रमुख श्रेष्ठले बोत्तलको पानी पिउन योग्य नभेटिए कानुन अनुसार कारबाही गर्ने जानकारी दिए । ‘यदि उद्योगले गुणस्तरीय पानी उत्पादन–प्रशोधनमा लापरबाही गरेको पुष्टि भएमा ऐन अनुसार कडा कारबाही प्रक्रियाअघि बढ्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया