विजयपुर पुलको प्रगति ७० प्रतिशत

राष्ट्रिय समाचार समिति (रासस) २०८२ मंसिर १० गते १०:३६

गण्डकी ।
पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना अन्तर्गत पोखरा २६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । उक्त सडक योजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी २ महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको छ ।


शनिबारदेखि पुलमा ‘गिर्डर लन्चिङ’ को काम भइरहेको छ । ‘अहिलेसम्म ४ वटा गिर्डर लन्चिङ भइसकेको छ, अझै ११ वटा गिर्डर लञ्चिङ गर्न बाँकी छ’, प्रमुख कुँवरले भने, ‘गिर्डर लन्चिङपछि पुलको स्लाब र दुवैतर्फको सडक ढलान हुन्छ ।’ आउँदो बिहीबारसम्मलाई बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द गरेर ‘गिर्डर लन्चिङ’ को काम गरिएको हो ।


सडक ठेक्का अन्तर्गत उक्त पुल निर्माण भइरहेको हो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नति गरिरहेको छ । यस खण्डमा विजयपुर खोलासँगै सेती नदीमा पुल निर्माण भइरहेको छ । पोखरा ९ र १० लाई जोड्ने गरी सेती नदीमा निर्माणाधीन उक्त पुलको भौतिक प्रगति ५३ प्रतिशत पुगेको प्रमुख कुँवरले बताउनुभयो ।

Advertisement


गत भदौमा ३ वर्षे ठेक्का अवधि सकिएको उक्त पुलको प्रगति न्यून देखिएको हो । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा ४ वटा जगको काम पूरा भइसकेको छ । ४ वटा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख कुँवरले जानकारी दिए ।


६ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका २ वटा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गत पोखरा मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका हुन् ।

Advertisement


आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला १, फेदीखोला २, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । ‘पश्चिम खण्डमा विजयपुर खोला र सेती नदी पुल मात्र निर्माणको चरणमा छ, अन्य पुल बनेर पनि सञ्चालनमा आइसकेका छन्’, प्रमुख कुँवरले भने ।


पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति झण्डै ६१ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत पुगेको प्रमुख कुँवरले उल्लेख गरे । ३८.८८ किमी दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमीमा एकतर्फी पहिलो तहको कालोपत्र, २९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया