गण्डकीमा २९९ युवाका लागि ३ महिने सीपमूलक तालिम सुरु, उद्यम बन्न ‘सीड मनी’ को व्यवस्था

समाधान संवाददाता २०८२ मंसिर १० गते १५:३८

पोखरा ।
गण्डकी प्रदेशका युवालाई व्यावसायिक रूपमा दक्ष बनाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले पोखरामा ३ महिने सीपमूलक तालिम सुरु भएको छ । कुल ३९० कार्यघण्टासम्म चल्ने यो तालिमको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सोमबार औपचारिक उद्घाटन गरे ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्कीका प्रमुख अनिल सुवेदीका अनुसार यस चरणमा १३ वटा विभिन्न शीर्षकमा तालिम सञ्चालन हुनेछ । तालिमका लागि १ हजार ३ सय ५५ जनाले आवेदन फाराम भरेकोमा छनोट प्रक्रियाबाट २९९ जना छानिएका छन् । सुवेदीले छनोट भएका प्रशिक्षार्थीलाई दैनिक ५ घण्टाका दरले तालिम दिइने र खाजा खर्चबापत दैनिक ७५ रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले युवालाई सीपमार्फत रोजगारी र आत्मविश्वाससँग जोड्ने यो पहल ऐतिहासिक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सीप सिकेर सानो कोही हुँदैन, सम्मानसाथ सिक्न आवश्यक छ । श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।’

Advertisement

तालिम लिएपछि व्यवसाय सुरु गर्न चाहने युवाका लागि प्रदेश सरकारले ‘सीड मनी’ को व्यवस्था गरेको मन्त्री थापाले बताए । उनका अनुसार बैंकसँग समन्वय गरी ५० प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत लगानीकर्ताको साझेदारीमा उद्यम स्थापना गर्न सकिनेछ । सरकारले प्रशिक्षार्थीहरूको प्रगति र अवस्थाबारे निरन्तर अनुगमन गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका प्रमुख डा. सोमनाथ सापकोटाले कार्यक्रममा बोल्दै व्यावसायिक शिक्षाको महत्त्वमाथि प्रकाश पारे । उनले भने, ‘सीप विकासको तालिम ब्रान्ड बन्दै गएको छ । सरकारले गरेको लगानी सदुपयोग गर्न प्रशिक्षार्थीहरू जिम्मेवार हुनुपर्छ ।’

Advertisement

केन्द्रले सञ्चालन गर्न लागेको तालिममा कुक, सैलुन (कपाल काट्ने), ब्युटी पार्लर (आधारभूत केश–शृंगार), विद्युत् जडान, प्लम्बिङ, मोबाइल मर्मत र आधारभूत कम्प्युटर जस्ता विषय समावेश छन् । त्यस्तै कटाइ–सिलाइ, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल र मन्टेस्वरी शिक्षा लगायतका सीप पनि सिकाइनेछ ।

उद्घाटन कार्यक्रममा प्रशिक्षार्थी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको तालिम केन्द्रले जनाएको छ । गण्डकी सरकारले आगामी दिनमा रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया