लिटल फ्लावरमा स्पोर्टस् मिट शुभारम्भ

समाधान संवाददाता २०८२ मंसिर १० गते १६:३२

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेसनल सेकेन्डरी स्कुलमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस् मिट बुधबारदेखि सुरु भएको छ । बेलुन उडाएर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लिटल फ्लावर स्कुल चेतनाका साथै विकृति र विसंगति विरुद्ध रहेको बताए ।

Advertisement


कार्यक्रममा दीप प्रज्ज्वलन र बल हस्तान्तरण गर्दै उनले समाजमा अग्रसरता देखाएकामा प्रशंसा गरे । उनले पढाइको साथसाथै खेलकुदका माध्यमले पनि विद्यार्थीहरुलाई अगाडि बढाउने उद्देश्य राख्नु सराहनीय रहेको बताए । अधिकांश गुरुङ र भूपूहरुको बस्ती रहेको रिठेपानीमा विगत ३० वर्ष अगाडि विद्यालय स्थापना गरी समाज परिवर्तनमा योगदान पु¥याएकामा विद्यालयकी संस्थापक द्वय देवी खड्का र कमल खड्काप्रति उनले आभार व्यक्त गरे ।


कार्यक्रममा बोल्दै एन प्याब्सन केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारीले शुभकामना दिँदै खेलमा उत्कृष्टता हासिल गर्न विद्यार्थीहरुलाई प्रेरित गरे । प्रिन्सिपल बिकल पौडेलले खेलकुदको विकासका लागि विद्यालयले विभिन्न खेल अभियानमा जोड दिएको बताउँदै खेलकुद हारजितको लागि भन्दा पनि विद्यार्थीको सर्वांगीण विकासको लागि आयोजना गरिएको बताए । कक्षा ११, १२ संयोजक विष्णुहरि पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रममाथि प्रकाश पारे ।

Advertisement


कार्यक्रममा वडा सदस्य जितेन्द्र क्षत्री, विद्यालय सञ्चालक अध्यक्ष देवी प्रधान खड्का, राइजिङ स्टार युवा क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङ, प्रगतिचोक आमा समाजकी अध्यक्ष देवी गुरुङ, विद्यार्थी सुदिक्षा पौडेल, खेल प्रशिक्षकहरु शम्भू केसी, शंकरप्रसाद शाह, अनिश गुरुङ लगायतले शुभकामना व्यक्त गरे ।

अतिरिक्त क्रियाकलाप संयोजक ध्रुव सुवेदीले वार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस् सञ्चालन गरिएको र खेलकुद अन्तर्गत विभिन्न दुरीका दौड, रिले, भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायतका खेल सिनियर र जुनियर समूहमा खेलाइने बताए ।

Advertisement


कार्यक्रमको सञ्चालन एकडेमिक डिन विचित्र न्यौपानेले तथा अध्यक्षता विव्यस अध्यक्ष तिलकसिंह गुरुङले गरेका थिए । विव्यस सल्लाहकारहरु क्याप्टेन इन्द्रबहादुर गुरुङ र क्याप्टेन गणेशप्रसाद गुरुङले विद्यार्थीहरुले प्रस्तुत गरेका मार्च पासको मूल्यांकन गरे । शुभारम्भ कार्यक्रमका अवसरमा विद्यार्थीहरुले म्यूजिकल पिटी प्रदर्शन गर्नुका साथै सांस्कृतिक प्रस्तुति समेत राखे ।

तपाईको प्रतिक्रिया