लोक दोहोरीमा जम्दै तनहुँकी निरा
दोहोरी साँझदेखि स्टेजसम्मको यात्रा

पोखरा ।
तनहुँको घिरिङ गाउँपालिका ३ डाँडाथोकमा जन्मिएकी निरा थापा मगर यतिबेला लोक तथा दोहोरी गायन क्षेत्रमा लोकप्रिय नाम बनेकी छन् । सामान्य गाउँले परिवेशबाट संघर्ष गर्दै सांगीतिक यात्रा आरम्भ गरेकी उनी अहिले देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरुमा निकै व्यस्त रहेकी छन् ।
आमा केशरी थापा र बुबा यामबहादुर थापामगरको कोखबाट जन्मिएकी निराले आफ्नो बाल्यकालको सपनालाई साकार पार्दै लोक दोहोरी पारखीमाझ आफूलाई स्थापित गराउन सफल भएकी हुन् ।
सानैदेखि अन्तरमुखी स्वभावकी भए पनि निरामा कलाकार बन्ने हुटहुटी थियो । गाउँमा हुने कार्यक्रममा कलाकारहरु स्टेजमा नाचेको र गाएको देख्दा आफू पनि भविष्यमा त्यसरी नै गाउने सपना बुनेकी थिइन् । सुरुवाती दिनमा आफ्ना रहरहरु परिवारलाई भन्न नसके पनि मेलापात र विद्यालयका कार्यक्रममा उनको स्वर सुनिसकेपछि साथीभाइ र छरछिमेकीले तारिफ गर्न थाले । पछि उनको गायन कलालाई परिवारले पनि राम्रो साथ दिएको उनी बताउँछिन् ।
गायन क्षेत्रमै भविष्य खोज्ने क्रममा वि.सं. २०७४ सालतिर पोखरा झरेकी निराले लगत्तै दोहोरी साँझबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरिन् । ‘साइनो दोहोरी’ बाट काम सुरु गरेकी उनले ‘हाम्रो दोहोरी साँझ’, ‘भन्ज्याङ बुटिक दोहोरी साँझ’ हुँदै चिप्लेढुंगास्थित ‘गाउँसहर दोहोरी साँझ’ मा लामो समय काम गरिन् ।
पेसागत अनुभव बटुल्दै उनी अहिले काठमाडौंको ठमेलस्थित ‘गाउँबेसी दोहोरी नाचघर’ मा आबद्ध रहेर गायन यात्रालाई निरन्तरता दिइरहेकी छन् । पोखराबाट सञ्चालन हुने ‘रोधी अनलाइन टिभी’ मा लाइभ दोहोरी गाउन थालेपछि उनको चर्चा अझ चुलिएको हो ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीको कार्यसमितिमा रहेर संस्थागत योगदान समेत गरेकी निराले २०७५ सालमा काठमाडौंमा आयोजित ‘इमेज लोक कलाकार सिजन २’ मा सहभागिता जनाएकी थिइन् । सो प्रतियोगिताले आफूलाई यस क्षेत्रमा लाग्न थप हौसला मिलेको उनी सम्झिन्छिन् । सांगीतिक यात्राकै क्रममा २०२३ को ‘मिस मगर इन्टरनेसनल’ मा उनी ‘फोर्थ रनर अप’ बन्न सफल भएकी थिइन् ।
अहिलेसम्म निराका ८ ओटा गीत बजारमा आइसकेका छन् । उनका ‘मलाई बैंसले पार्यो सत्यानास’, ‘फूलैमा महुरी’, ‘रोइला’, ‘रिसिङ्गे भेना’ (कौराहा), ‘मुस्ताङ बजार’ (सेलो) लगायतका गीतहरु चर्चित छन् । प्रायः आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गर्ने उनले आफ्ना गीतमा आफैं मोडलिङ समेत गर्दै आएकी छन् । यसबाहेक कौडा, तामाङ सेलो, आधुनिक गीत ‘हिमालको चिसो पाखाले’, ‘लेकैमा चौरी’ लगायतमा पनि उनले अभिनय गरेकी छन् ।
लोक गीतसंगीतसँग आफ्नो गहिरो सम्बन्ध रहेको बताउने निरा विशेष गरी सालैजो, कौडा र झ्याउरे जस्ता मौलिक भाका मन पराउँछिन् । अग्रज गायिका बिमाकुमारी दुराको गीत सुन्दा आनन्द आउने बताउँदै उनी भन्छिन्, ‘त्यसमा पनि सोलो प्याटर्नका गीतहरु बढी मन पराउँछु ।’ सुखमा मनोरञ्जन र दुःखमा पीर बिसाउने माध्यम संगीत नै भएको उनको बुझाइ छ ।
छोटो समयमै स्थापित गायिकाको छवि बनाएकी उनी अहिले पूर्वको ओखलढुंगादेखि पश्चिमका विभिन्न जिल्लाका स्टेज कार्यक्रममा पुगिसकेकी छन् । बागलुङ, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी र हिमाली जिल्ला मुस्ताङसम्मका कार्यक्रममा उनी पुग्ने गरेकी छन् ।
अन्य कलाकारको तुलनामा व्यस्त देखिनुको कारण खुलाउँदै उनी भन्छिन्, ‘मगर समुदाय र मगर बस्ती बढी भएको गाउँ ठाउँमा सांस्कृतिक कार्यक्रमहरु बढी नै हुने गर्दछ, त्यसैले मगर भएको नाताले पनि सायद उहाँहरुले माया गरेर बोलाउनुहुन्छ र यो अवसर मैले पाएको छु ।’
दर्शक र स्रोताको माया नै कलाकारको ठूलो सम्पत्ति भएको बताउने निराले आफ्नो लाइभ दोहोरीलाई रुचाइदिएकोमा खुसी व्यक्त गरेकी छन् । गीत संगीतबाहेक अन्य विकल्प नसोचेको बताउने उनले आगामी दिनमा पनि यसै क्षेत्रमा सक्रिय रहने र अझ धेरै कुरा सिक्दै दर्शकमाझ पुग्ने अठोट लिएकी छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया