पोखराको गणेशटोलमा यःमरी महोत्सव हुने

पोखरा ।
पोखरा महानगर वडा नम्बर ४ ले आगामी शनिबार पुरानो बजारको गणेश टोलमा ‘छैटौँ यःमरी महोत्सव’ गर्ने भएको छ । नेवारी समुदायको सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्ने उद्देश्यले नेवाः मिसा पुचः कास्कीसँगको सहकार्यमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा नेवारी परिकारको प्रदर्शनीसँगै बिक्री, विद्यार्थी नृत्य, झाँकी, ब्यान्ड सो र यःमरी प्रतियोगिता मुख्य आकर्षण रहने छन् । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगी लगायत सामग्री राखेर बनाइने योःमरी पछिल्लो समय लोप हुने अवस्थामा छ । नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो ।
आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् यःमरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन नेवा मिसा पुचः कास्की लागिपरेको छ । वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार महोत्सवमा नेवारी खानेकुराका ६ स्टल राखिनेछन् । चाकुको यःमरी ८० रुपैयाँ र खुवाको यःमरी १ सय रुपैयाँमा बिक्री उनले जानकारी दिए ।
परम्परागत परिकार जोगाउन पोखरा महानगरपालिकाले पनि साथ दिएको पराजुलीले बताए । वडा कार्यालयले कला र संस्कृतिको संरक्षणका लागि वितगदेखि नै काम गर्दै आएकाले यःमरी जोगाउन प्रयिोगिता आयोजना गरेको उनको भनाइ छ । यःमरी प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने सहभागी समूहलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा स्वादका साथ–साथै विधि, सामग्रीको प्रयोग र प्रस्तुतिबारे गरिने प्रश्नोत्तर समेत मूल्यांकनको आधार हुने नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले बताइन् । महोत्सवले युवा पुस्तामा यःमरीको महत्व बुझाउन सहयोग पुगेको उनले बताइन् । यो परिकारको नेवार समुदायमा विशेष महत्व रहेकाले जोगाएर राख्नुपर्ने उनको धारणा छ ।
‘नयाँ धानको पहिलो परिकारका रुपमा यःमरी बनाइन्छ’, अध्यक्ष बज्राचार्यले भनिन्, ‘मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन नयाँ धानको चामलबाट बनेको यःमरीलाई पूजा गरियो भने घरमा कहिल्यै अन्नको अभाव हुँदैन भन्ने जनविश्वास छ ।’ यो वर्षको महोत्सव शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म गणेश टोलको सडक क्षेत्रमा सञ्चालन हुनेछ ।
नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले नेवा महोत्सवलाई परम्परा संवद्र्धनका रुपमा हेरेको सुनाए । ‘हामी यो यमरी महोत्सवमा विगतमा यमरी नै पु¥याउन नसकेको अवस्था थियो । यस पटक यस्तो नुहुने हुँदैन, अर्को नेवारको पहिचानका रुपमा चिनिएको संस्कृति पर्व बढे पनि, व्यपार व्यवसायमा हामीहरु पछि परेका छौं,’ उनले भने, ‘हिजो मम वर्ग विशेषको थियो । अहिले सबैको खाना बनेको छ । हामीले नेवारी खानालाई पनि सबैको खानाका रुपमा प्रचार गर्नुपर्छ, त्यसरी नै पस्कनुपर्छ ।’









इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया