मर्दी पदमार्गमा विद्युतीकरण

समाधान संवाददाता २०८२ मंसिर ११ गते १५:४६

पोखरा । नेपाल विद्युत प्राधिकरणले कास्कीको मर्दी हिमाल पदमार्गमा विद्युतीकरण गरेको छ । हालसम्म पनि राष्ट्रिय प्रशाारणको विद्युत लाइन पुग्न नसकेको सो पदमार्गमा ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत विस्तार गरिएको पोखरा वितरण केन्द्रका ग्रामीण शाखा इन्चार्ज शोभाकर पौडेलले जानकारी दिए ।

पदमार्गको कालिमाटी, डुढखर्क, मुसलबारीदेखि कोकार हुँदै फरेस्ट क्यामसम्म ११ केभी लाइन निर्माण सम्पन्न गरी स्थानीयलाई विद्युत सेवा उपलव्ध गराइएको पौडेलले बताए । पदमार्गको सिदिङदेखि लो क्याम्प, बादल डाँडा हुँदै हाइ क्याम्पसम्म चाँडै सेवा विस्तार गरिने उनले जनाए ।

पर्यटनमा आश्रित यस क्षेत्रका स्थानीयलाई विद्युत सेवा पुगेपछि थप सहज हुने विश्वास प्राधिकरणले लिएको छ । विद्युत सेवा विस्तारमा स्थानीय जनप्रतिनिधि, त्यस क्षेत्रका होटल व्यवसायी र स्थानीय बासिन्दाको सहयोगले विकट क्षेत्रमा पनि सेवा विस्तारमा सहज भएको इन्चार्ज पौडेलको भनाइ छ । विद्युतीकरणसँगै त्यस क्षेत्रका स्थानीय, होटल व्यवसायी र त्यहाँ पुग्ने पर्यटक हर्षित भएका छन् ।

Advertisement

मर्दी हिमाल इको भिलेज होटलका सञ्चालक शिव भण्डारीले अब सो क्षेत्र थप गुल्जार हुने अपेक्षा सुनाए । प्राधिकरणले अन्नपूर्ण पदमार्गको मच्यु, झिनु, छोम्रोङ हुँदै अपर सिनुवासम्मको विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । यसअघि घान्दु्रकदेखि कुम्रङ डाँडा, चुइले, टाडापानी तथा अन्नपूर्ण ९ को रामदुवाली, उल्लेरी वनठाँटीसम्म विद्युतीकरण गरी सेवा सञ्चालन भइसकेको छ ।

पोखराबाट २ दिनमा नै पुग्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहनेको रोजाइमा पर्छ । समुद्री सतहबाट ३ हजार ५ सय ५० मिटरको मर्दी हाइक्याम्पबाट करिब २ घन्टामा ४ हजार २ सय मिटरमा पर्ने भ्यु प्वाइन्ट र त्यहाँबाट २ घन्टामा ४ हजार ५ सय मिटरको मर्दी आधार शिविर पुग्न सकिन्छ ।

Advertisement

पोखराबाट २२ किमीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । माछापुच्छ«ेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अस्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्छन् ।

तपाईको प्रतिक्रिया