सम्पादकीय—निकासका लागि निर्वाचन

पछिल्लो समय युवाको समूह र कतिपय राजनीतिक दलका नेता सडकमा आमुनेसामुने भएको देखिन्छ । बाराको सिमरामा एमालेका नेता, कार्यकर्ता र जेनजी युवाबीच भएको झडपको घटना सेलाउन नपाउँदै मोरङको विराटनगरमा केही युवाले नेता भानुभक्त ढकाल र महेश बस्नेत चढेको गाडीमा रातो मसी छ्यापे । लगत्तै दुवै नेतालाई लक्षित गरेर इटहरी पुगेपछि केही युवाले प्रदर्शन गरे ।
बुधबार पश्चिम नेपालमा पनि बस्नेत जाने कार्यक्रममा झडप भएको छ । यस्ता घटनाले समाजलाई एकातिर द्वन्द्वमा लैजान सक्छ भने अर्कोतिर निष्पक्ष र भयरहित निर्वाचन गराउने उद्देश्यमा धक्का पुर्याउन सक्छ । समाजलाई द्वन्द्वमा लैजाने शक्तिले जितेको अवस्थामा लोकतान्त्रिक अभ्यासले हार्ने छ । यस्तो चाहना जेनजी युवाले राखेका थिएनन् र त्यसका लागि उनीहरुल्े २३ र २४ भदौमा आन्दोलन गरेका पनि होइनन् । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न माग राखेर भएको जेनजी आन्दोलनले राजनीतिमा पनि पुस्तान्तरण खोजेको छ । जसको प्रभाव राजनीतिक दलहरूमा देखिएको छ ।
पछिल्लो समय नयाँ राजनीतिक दल खोल्ने र पुराना दल ध्रुवीकरणमा जाने प्रवृति ह्वात्तै बढेको छ । यसको कारण भनेकै जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थिति हो । निर्वाचन आयोगका अनुसार दर्ता दलको संख्या १ सय ३२ पुगेको छ । दल खोल्ने लहर र ध्रुवीकरणको प्रक्रिया नियाल्दा कतियमा त्रास र कतिपयमा आस देखिन्छ । खासगरी युवा नयाँ नेपालको सपना देखेर राजनीतिमा होमिएका छन् भने कतिपय पुराना राजनीतिक शक्तिले अस्तित्वको खोजी गरेको भान हुन्छ ।
अस्तित्वको खोजीमा रहेका १२ दल र समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी नै बनेको छ । पुराना दलका पनि दोस्रो र तेस्रो पुस्ताले मिलेर नयाँ पार्टी र अभियानहरु सुरु गरेका छन् । एकातिर दल दर्तामा लहर आउनु र जनतामा जान आतुर देखिनुलाई सन्तोषको विषय मान्नुपर्छ । अर्कोतिर सडकमा जेनजी युवा र नेता अवरोधको शैलीमा आमुनेसामने हुनु चिन्ताको विषय हो ।
लोकतन्त्र जनताको मत जितेर शासन गर्ने व्यवस्था हो । जोकोही निर्वाचनमार्फत सत्तामा पुग्न सक्छ । यो व्यवस्थाको सुन्दर पक्ष यही हो । त्यसलाई स्वीकार गर्ने हो भने कुनै शक्तिलाई कुनै ठाउँमा पुग्न रोक लगाउनु स्वीकार्य हुन सक्दैन । जनता जे भने पनि सुन्ने र पत्याउनेपात्र हुन् भन्ने प्रवृत्ति तोडिँदै गएको छ । जनताको प्रतिनिधि हुनु भनेको जनताले अनुसरण गर्ने बोली र व्यवहार प्रदर्शन गर्नु पनि हो ।
त्यस कारण सडकमा भिड्नेहरू जनप्रतिनिधि बन्न लायक हुँदैनन् । निर्वाचनमा जनताको मत जित्ने कार्यमा प्रतिस्पर्धा गरे जो कोही सत्तामा पुग्न सक्छ अन्यथा फेरि सडकमै भेटिने अवस्था बन्नेछ । अनेक आन्दोलन, सशस्त्र विद्रोह र त्यागको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कदमलाई स्वीकार्न सकिन्न । यसलाई सुधार्नेतर्फ लाग्न सकिन्छ, व्यवस्था मास्ने धृष्टता स्वीकार्य हुन सक्दैन ।








नेकपाको पोखरामा एकता सन्देश सभा
मुस्ताङमा सुरु भयो ‘हिमालको रानी’ हिउँ चितुवाको गणना र अध्ययन
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरामा एमालेले र्याली निकाल्ने
तपाईको प्रतिक्रिया