सामाजिक सुरक्षालाई बोझ होइन, शानको रूपमा लिन निजी क्षेत्रलाई प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नहुने बताएकी छन् । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई आफ्ना श्रमिक तथा कर्मचारीहरूको सामाजिक सुरक्षालाई बोझको रूपमा नभई शानको रूपमा लिन आग्रह गरिन् ।
न्याय क्षेत्रमा लामो समय काम गर्दा सामाजिक न्यायबारे परिचित भए पनि बदलिँदो भूमिकाको जिम्मेवारी नियाल्दा सामाजिक सुरक्षाबिना त्यो सम्भव नहुने निष्कर्षमा पुगेको उनको भनाइ छ । उनले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको औँल्याइन् । प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षाको सफल कार्यान्वयनबाट हुनेले नहुनेलाई, धनीले गरिबलाई र निरोगीले रोगीलाई प्रणालीबद्ध रूपले सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाज निर्माण हुने बताइन् ।
‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को सफल कार्यान्वयनबाट हरेक नागरिकलाई स्वदेशमै श्रम गरेर बस्ने वातावरण तयार हुने र समग्र उत्पादकत्व अभिवृद्धि गर्ने आधार निर्माण गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भनिन् । उनले एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकारले छोटो कार्यकालमा पनि गम्भीरतापूर्वक छलफल गरिरहेको जानकारी दिइन् ।
विशेषगरी औपचारिक क्षेत्रको अनिवार्य आबद्धता कार्यान्वयन, अनौपचारिक क्षेत्रका श्रमिकलाई कानुनी रूपमा गर्नुपर्ने सह-योगदानमा संघीय सरकारले कति गर्ने भन्ने विषयमा सरकार स्पष्ट हुन खोजेको उनले बताइन् । साथै, सरकारी करारमा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएको महसुस गराउने र कोषको रकमलाई न्यायोचित प्रतिफलसहित राज्यले आन्तरिक पुँजीको रूपमा परिचालन गर्ने विषयमा स्पष्ट दिशा प्रदान गर्न छलफल भइरहेको प्रधानमन्त्रीले जनाइन् । राज्यप्रति नागरिकको अपनत्व सिर्जना हुने गरी सम्बोधन गर्न वातावरण तयार गर्ने विश्वास उनले दिलाइन् ।
दिन प्रतिदिन आकार बढ्दै गएको कोषलाई राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा अहिले नै गम्भीरतापूर्वक गृहकार्य गर्नु आवश्यक रहेको उनको भनाइ छ । ‘प्रत्येक श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम सार्थक परिणाम दिने क्षेत्रमा लगानी गर्नुपर्दछ,’ कार्कीले भनिन् । आफू जुनसुकै भूमिकामा भए पनि सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण गर्दै उनले समृद्ध नेपाल निर्माणमा सामाजिक सुरक्षा प्रणालीमार्फत आन्तरिक पुँजी निर्माणको आयाममा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया