मुस्ताङमा सुरु भयो ‘हिमालको रानी’ हिउँ चितुवाको गणना र अध्ययन

पोखरा ।
‘हिमालको रानी’ उपनामले चिनिने हिउँ चितुवाको यकिन संख्या र अवस्था पत्ता लगाउन मुस्ताङमा विशेष सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले बायोकोस नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो अध्ययन थालेको हो । सर्वेक्षणका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्च हिमाली भेगमा १५ वटा क्यामेरा जडान गरी बासस्थान, आहारा तथा संख्याको खोजी थालिएको छ ।
मुस्ताङमा हिउँ चितुवाको यकिन तथ्यांक नभए पनि विगतमा देखिएका क्षेत्र र पशु चौपायालाई क्षति पुर्याएका स्थानलाई केन्द्रविन्दु मानेर क्यामेरा जडान गरिएको छ । एक्याप इलाका कार्यालय जोमसोमका प्रमुख राजेश गुप्ताले हिउँ चितुवाको बासस्थान, आहारा र संख्या पत्ता लगाउन अध्ययन केन्द्रित रहेको बताए । प्रमुख गुप्ताले भने, ‘जाडो याममा हिउँ चितुवाको अध्ययनमा सजिलो हुन्छ, गर्मी र जाडोयामको अवस्थाका बारेमा पनि अध्ययन आवश्यक छ ।’

यसपटक जडान गरिएका क्यामेरा दुई महिनासम्म राखिनेछ । यस अवधिमा बिहान, दिउँसो र बेलुकीको समयमा हिउँ चितुवासहित अन्य वन्यजन्तुको आवतजावतको अनुसन्धान गरिनेछ । अहिलेको समयमा अत्यधिक हिउँ पर्ने हुँदा आहाराको खोजीमा हिउँ चितुवा बस्ती र गोठतिर झर्ने सम्भावना हुन्छ । त्यसैले तिनको दिशा, स्थान, बासस्थान र गतिविधि अवलोकन गर्न क्यामेराले सघाउने एक्यापले जनाएको छ । यसअघि गर्मी र जाडोयामको समयमा वन्यजन्तुको अवस्था बुझ्न एक्यापले जेठ र असार महिनामा पनि क्यामेरा जडान गरेको थियो ।
अध्ययनका लागि क्यामेरा जडान तथा आहारा प्रजातिको बासस्थान क्षेत्रमा बायोकोस नेपालका कार्यक्रम सहायक बुद्धिप्रसाद गुरुङ र प्राकृतिक संरक्षण सहायक दीपक ओली खटिएका छन् । वारागुङ मुक्तिक्षेत्रबाट सुरु भएको यो अध्ययन घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिकासँगै उपल्लो मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा समेत गरिनेछ ।
नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवालाई स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । लजालु स्वभावको यो वन्यजन्तु समुद्र सतहबाट ३ हजार ५ सय मिटरदेखि ५ हजार ५ सय मिटरको उचाइमा बस्ने गर्छ । हिउँ चितुवाको बासस्थान भएको क्षेत्रमा यसका आहारा प्रजातिका वन्यजन्तु पनि प्रशस्तै पाइन्छन् । तर, पछिल्लो समय जलवायु परिवर्तन र डढेलोका कारण यसको बासस्थान अर्थात् ‘कोर एरिया’ लाई समेत असर गरेको अनुमान अनुसन्धानकर्ताको छ ।








नेकपाको पोखरामा एकता सन्देश सभा
मुस्ताङमा सुरु भयो ‘हिमालको रानी’ हिउँ चितुवाको गणना र अध्ययन
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरामा एमालेले र्याली निकाल्ने
तपाईको प्रतिक्रिया