नेकपाको पोखरामा एकता सन्देश सभा

समाधान संवाददाता २०८२ मंसिर १२ गते १८:१०

पोखरा ।
माओवादी र एकीकृत समाजवादीसहित १५ राजनीतिक दल एकीकृत भएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको छ । कार्तिक १९ गते काठमाडौंमा ‘एकता घोषणा सभा’ गरेपछि गण्डकी प्रदेशस्तरमा पनि मंसिर १४ गते ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।


गण्डकी प्रदेश कमिटीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते पोखरामा सन्देश सभा गर्ने तत्कालीन एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपालीले जानकारी दिए । गण्डकी प्रदेशस्तरीय सन्देश सभा चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सुरु हुनेछ । सभालाई सो पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायतका नेताहरुले सम्बोधन गर्ने नेपालीले जानकारी दिए ।


गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभामा २० हजार भन्दा बढी कार्यकर्ता उतार्ने नेपाली कम्युनिष्ट पार्टीले दाबी गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका नेता तथा पूर्व नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्माले गण्डकीका ११ वटै जिल्लाबाट कार्यकर्ता ल्याउने तयारी गरिएको बताए । त्यसका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।

Advertisement

\
विभिन्न पार्टीसँग एकतापश्चात थप एकताको क्रम जारी रहँदा १७ कम्युनिष्ट घटक एउटै झन्डामुनि गोलबन्द भइसकेको अवस्थामा स्थानीयस्तरसम्म एकताको सन्देश दिन सभा आयोजना गरिएको शर्माले जानकारी दिए ।
सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरिसकेको अवस्थामा कार्यकर्तास्तरीय एकताका लागि सभा आयोजना गरिएको उनले जानकारी दिए । एकता सन्देश सभा समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि भएको बताए । ‘हामीले ढाँटेर होईन, घोषणा गरेरै अघि बढेका छौं,’ उनले भने, २०५२ सालमा गणतन्त्र ल्याउँछौं भन्यौं र ल्याएर पनि देखायौं । र अब समाजवादी क्रान्ति गर्ने घोषणा गरेका छौं ।’


उनले आउँदा निर्वाचनमा जेनजीको प्रतिनिधित्व र नेतृत्व पुस्तान्तरण हुँदै जाने सुनाए । ‘प्रचण्ड, माधवजीले पनि छाड्नु हुन्छ, हामी पनि छाड्छौं,’ उनले भने । १५ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले अहिले देशको मूल प्रवाहीकरणको नेतृत्व गरिरहेको भन्दै उनले अब जेनजीको माग अनुसार भ्रष्टाचारमुक्त देश बनाउन, सुशासन कायम गर्न पनि नेपाली कम्युनिष्ट पार्टीको विकल्प नभएको बताए ।

Advertisement


नेकपाले माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक शिद्धान्त मान्दै ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ कायम गर्ने लक्ष्य भएको उनले सुनाए । विज्ञप्तिमा युवाको विदेश पलायन रोक्ने, शिक्षा–स्वास्थ्य निःशुल्क गर्ने, राष्ट्रिय पूँजी परिचालन गरी छिटो आर्थिक विकास गर्ने जस्ता उद्देश्य उल्लेख छन् ।


गण्डकी प्रदेश इन्चार्ज शर्माले भाद्र २३–२४ को जनआन्दोलनलाई पार्टीले ‘राजनीतिक सन्देश’ मानेर वाम शक्तिहरु ध्रुवीकरण भएको सुनाए । पोखराको सभालाई चुनाव केन्द्रित सभाका रुपमा हेरेको उनले सुनाए ।
‘यो एकतालाई जनताले रुचाएका छन् भनेर देखाउन पनि यो सन्देश सभा हुन लागेको हो, तपाईं पत्रकारहरुले यसलाई सबैमाझ पु¥याएर धेरैभन्दा धेरै जनताको सहभागीताको अपेक्षा राखेका छौं,’ इन्चार्ज शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया