‘पञ्चासेमा रिसर्च सेन्टर बन्छ’

समाधान संवाददाता २०८२ मंसिर १३ गते १४:३१

पोखरा ।


पोखराका विभिन्न पर्यटकीय पूर्वाधार स्तरोन्नति तथा सौन्दर्यकरण गर्नेगरी एसियाली विकास बैंक (एडिबी)ले पोखरामा साढे एक अर्ब लगानी गर्ने योजना अगाडि सारेको छ । विभिन्न परियोजना सञ्चालन गर्नका लागि महानगरले काम थालिसकेको छ । यसैका लागि एडिबी टोलीले शुक्रबार परियोजना निरीक्षण गरेको छ ।


४५ जनाको टोली निरीक्षणमा व्यस्त रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । एडिबीका कन्ट्री डाइरेक्टर अर्नोद कोसुवा, टिम लिडर नरेश गिरी लगायतको एडिबीको टोली, सहरी विकास मन्त्रालय अन्तर्गतको परियोजना कार्यान्वयन इकाइ, कन्सल्टेन्ट टिम, महानगरको परियोजना कार्यान्वयन टोली, महानगर प्रमुख तथा प्रमुख प्रशासनिक अधिकृत सहितको संयुक्त टोलीले विभिन्न क्षेत्रमा निरीक्षण गरेको हो ।

Advertisement


शुक्रबार टोली पञ्चासे क्षेत्र विकास परियोजना अवलोकनका लागि त्यहाँ पुग्यो । मेयर आचार्यले पञ्चासे पुग्नका लागि घाँटीछिनासम्म पिच भइसकेपनि त्यहाँदेखि माथि १४ किलोमिटर परियाजनाले पिच गर्ने भएकाले त्यस क्षेत्रको निरीक्षणका लागि गएको सुनाए ।


‘१ सय ४५ प्रकारका अर्किडहरु त्यहाँमात्र पाइने भएकाले यो क्षेत्र जैविक विविधतासँगै धेरै हिसाबबाट महत्वपूर्ण भएकाले त्यहाँ एउटा रिसर्च सेन्टर बन्छ,’ उनले भने, ‘हिउँ पर्ने क्षेत्र, लालीगराँसको जंगल, धार्मिक महत्व, हाइअल्टिच्युट खेल मैदान, साँस्कृतिक सबै क्षेत्रका हिसाबले पञ्चासे महत्वपूर्ण छ ।’

Advertisement


एडिबीको सहयोगमा पञ्चासे क्षेत्र विकास परियोजनासँगै शान्तिवन वाटिकामा निर्माणाधीन बोटानिकल गार्डेन, पोखरा हेरिटेज साइट पुनर्निर्माण (रामकृष्ण टोल, गणेश टोल), ९ वटा ताल जोड्ने साइकल लेन निर्माण गरिने मेयर आचार्यले जानकारी दिए । एयरपोर्ट–लेकसाइड फास्ट ट्रयाक, फेवाताल पारी इको ट्रेल, पुम्दीकोटदेखि पञ्चासेसम्मको ट्रेलको काम पनि यही परियोजना अन्तर्गत बन्नेछ ।


‘यसमा फिर्के करिडोर पनि थियो । फिर्केमा केही विवाद भएकाले त्यसलाई पोस्टपन्ड गरेका छौं,’ उनले भने । एडिबीको सहयोगमा बन्ने परियोजनोले दिगो विकास, दिगो पर्यटनसँगै गरिबी निवारणका लागि सहयोग पुग्ने मेयर आचार्यले बताए ।


यसमा महानगरको पनि केही रकम खर्च हुने उनले सुनाए । ‘यसमा महानगरको पनि १८ प्रतिशत दायित्व छ,’ उनले भने । ५ वर्षको परियोजना भए पनि अब ३ वर्ष बाँकी छ । दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित पोखरा सहरभित्रका विभिन्न सात वटा पूर्वाधारका लागि एडिबी र महानगरबीच सम्झौता भइसकेको छ । परियोजना अन्तर्गत कन्सलट्यान्ट राखेर महानगरले काम सुरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया